Main News

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख सिफारिस, कामु सेनापतिमा शर्मा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १८:२४
गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख सिफारिस, कामु सेनापतिमा शर्मा (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । अघिल्लो सरकारका राजनीतिक नियुक्ति उल्टयाउने क्रममा देउवा सरकारले आज दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ ।

मन्त्रिपरिषदको आज बसेको बैठकले एमाले पृष्ठभूमिका लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव र गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई हटाएको हो । सरकारले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई प्रदेश प्रमुख बनाउने निर्णय गर्दै राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजन भएर पछिल्लो पटक एमालेमा समेत विवाद भएर गण्डकीमा एमालेको सरकार संकटमा परेका बेला शेरचनलाई हटाएर पौडेललाई नियुक्त गर्नुभएको थियो ।

लुम्बिनीका प्रमुख धर्मनाथ प्रसाद यादवले मुख्यमन्त्री शंकर पोखरेललाई सहयोग हुने गरी भूमिका खेल्नुभएको थियो भने त्यस्तै भूमिका लागि गण्डकीमा सीताकुमारी पौडेललाई पठाई पनि सफल हुन सकेको थिएन ।

केही दिन अघि विभिन्न देशमा ओली सरकारले सिफारिस गरेका राजदूतबारेको निर्णय उल्ट्याएको देउवा सरकारले त्यसैलाई निरन्तरता दिने क्रममा प्रदेश प्रमुखहरुलाई हटाएको हो ।

ओली सरकारले प्रदेश २ मा पनि तिलक परियारलाई हटाएर डाक्टर राजेश झालाई नियुक्त गरेको थियो । झालाई समेत हटाउने चर्चा चलेपनि सरकारले आज त्यो निर्णय गरेन ।

यस्तै मन्त्रिपरिषद बैठकले अर्थशास्त्री डाक्टर विश्व पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गरेको छ ।

यस्तै आयोगको सदस्यमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गरिएको छ । सरकारले बलाधिकृत रथी प्रभुराम शर्मालाई साउन २६ गते देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति तोकेको छ ।

सरकारले यसका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा सेवा निवृत्त हुनेभएपछि बलाधिकृत रथी शर्मालाई कायम मुकायम दिइएको हो । शर्मा प्रधानसेनापति बन्नुहुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *