Main News

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेसन फ्लाइटको तयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ११ गते १४:४४
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेसन फ्लाइटको तयारी (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेसन फ्लाइटको तयारीमा पुगेको छ ।

विमानस्थलको संरचना निर्माणको काम सकिएपछि अब क्यालिबेरेसन उडानको तयारी गरिएको हो । विमानस्थलको बाह्य संरचनाको काम सकिएको र अहिले केही उपकरण जडानको काम चलिरहेको छ ।

वि.स. २०७१ सालमा शुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको बाहिरी संरचना निर्माणको काम सकिएको छ । विमानस्थलभित्र अहिले उपकरण जडानको काम चलिरहेको छ ।

विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको तयारी छ । विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ छैन भनेर क्यालिब्रेसन फ्लाइट गरिन्छ । यसका लागि पाँच–सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान भर्छ । र यसमा एन्टेना, सिग्नल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठीक छ छैन भनी परीक्षण हुन्छ।

क्यालिब्रेसन फ्लाइटमा सबै सिग्नल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण शुरु गर्ने गर्छन् । विमानस्थलमा क्यालिब्रेसन फ्लाइटका लागि एरो थाइसँग सम्झौता भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्म ९७ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ । विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे, टर्मिनल भवन, विमानस्थल पार्किङ्ग क्षेत्र लगायतका काम भैसकेका छन् ।

कोरोना संक्रमणका कारण विदेशमा रहेका कामदारलाई ल्याउन नसक्दा टर्मिनल भवनमा उपकरण जडानको काम प्रभावित हुँदा आयोजनाको समय बढी लागेको देखिने विमानस्थल आयोजनाले जनाएको छ । विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने मुख्य पूर्वाधार बनिसकेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मूलतः तीन तहका काम भएका छन् । पहिलो अन्तर्राष्ट्रिय बोलपत्र अन्तर्गत छ अर्ब ८२ करोड रुपैयाँको काम भएको छ । दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र अन्तर्गत ५० करोड रुपैयाँ र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रुपैयाँको भएको छ ।

त्यसका अतिरिक्त कार्गो निर्माणमा ९० करोड रुपैयाँको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुनेछ । यो रकम एडीबीको ६२ दशमलब ६ प्रतिशत र नेपाल सरकारको ३७ दशमलब ४ प्रतिशत लगानी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *