सामाजिक सुरक्षा कोषसम्बन्धी मुद्दामा न्यायाधीशको राय बाझियो

१० साउन २०७८ काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुन बाध्य पारिएको भन्दै कोषविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका दुई न्यायाधीशको राय बाझिएको छ ।
न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आज फरकफरक राय दिएपछि अब यो रिटमाथि ३ जना न्यायाधीशको इजलासमा सुनुवाइ हुने भएको छ ।
न्यायाधीश केसीले बैंक कर्मचारी अनिवार्य रुपमा आवद्ध हुनुपर्ने भनी सामाजिक सुरक्षा कोषबाट जारी भएको सूचना, विज्ञप्तिलगायत यस सम्बन्धमा भए गरेका सबै निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश जारी हुने राय दिनुभएको छ ।
तर न्यायाधीश बमकुमार श्रेष्ठले भने बैंक कर्मचारीको मागको विषयमा पूर्ण सुनुवाई हुँदा छलफल भई निरुपाण हुने प्रकृतिको रहेको भन्दै अन्तरिम आदेश जारी गर्न नपर्ने राय दिनुभयो ।
सामाजिक सुरक्षा कोषले असार मशान्तभित्र आवद्ध हुन दबाब दिएपछि बैंकका कर्मचारीहरु त्यसविरुद्ध रिट लिएर सर्वोच्च पुगेका थिए ।
बैंक कर्मचारीहरुले सामाजिक सुरक्षा कोषमा आवद्ध हुँदा आफूहरुले खाईपाई आएको सुविधा घट्ने र सामाजिक सुरक्षा कोषले दिने प्रतिफल पनि नागरिक लगानी कोष। कर्मचारी सञ्चयकोषजस्ता संस्थाले दिने भन्दा कम रहेको भन्दै कोषमा आवद्ध नहुने बताउँदै आएका छन् ।
प्रतिक्रिया