Political Hightlights

एमाले पार्टी एकताका लागि दुवै पक्षका सांसदद्वारा दवाब अभियान शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १८:५१
एमाले पार्टी एकताका लागि दुवै पक्षका सांसदद्वारा दवाब अभियान शुरु (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाब अभियान शुरु गरेका छन् ।

१० बूँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन शुरु गरेका हुन् ।

आज सिंहदरवारमा विघटित कार्यदलका संयोजक तथा सदस्यहरुसँग भेट गरी उनीहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टी एकतालाई मजदुत बनाउनका लागि दवाब अभियान शुरु गरिएको सांसद कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

उहाँले भन्नु भयो, “पार्टी एकतालाई मजदुत बनाउनका लागि हामी दवाब दिन्छौं । त्यसका लागि सल्लाह पनि दिनेछौं । विघटित पार्टी एकता कार्यदललाई विश्वास पनि गर्दछौं । शीर्ष तहमा समस्या समाधान भने त्यसलाई पनि मिलाउनुहोस् । हामी तपाईँहरुको साथमा छौं । पार्टीभित्रको समस्या समाधानभन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौं ।”

सांसदहरुले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभावित हुन नहुने तर्क समेत गरेका छन् । उनीहरुले विघटित पार्टी एकता कार्यदलका नेताहरुलाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नेताहरुलाई नभएकोमा पनि सचेत गराएका छन ।

छलफलमा विघटित पार्टी एकता कार्यदलका संयोजक तथा सदस्यहरुले १० बुँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनका आवश्यकताबारे सांसदहरुलाई जानकारी गराएका थिए । १० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन सांसदहरुले आफूहरुलाई आग्रह गर्नु भएको विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिनु भयो । उहाँले पार्टी एकतावद्ध हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया पनि दिनु भयो ।

“हामीले १० बुँदे सहमतिको महत्व र त्यो कार्यान्वयनको स्थितिबारे उहाँहरुलाई जानकारी गरायौं । र उहाँहरुले पार्टीलाई एकमतले एकतावद्ध बनाएर अघि लैजान जोड दिनुभयो । त्यसका लागि उहाँहरुले संघीय संसदका पार्टीका सबै सांसदहरु कटिवद्ध भएर लागिपर्ने बताउनु भयो । १० बूँदे सहमति कार्यान्वयनमा पनि भूमिका खेल्नुस भन्नुभयो । हामीहरुले एमाले एकतावद्ध भएर अघि बढने विश्वास दिलायौं ।”

बैठकमा विघटित कार्यदलका माधव नेपाल पक्षका संयोजक रावल, अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङसहित कार्यदलका सदस्यहरु सहभागी हुनु भएको थियो भने दुवै पक्षका २ दर्जन बढी सांसदको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्