विदेश

शान्ति कायम गर्न राष्ट्रपतिले पद छाड्नुपर्ने शर्त

हिमालय टिभी
२०७८ साउन १० गते ७:४२
शान्ति कायम गर्न राष्ट्रपतिले पद छाड्नुपर्ने शर्त

१० साउन २०७८ काबुल । अफगानिस्तानमा शान्ति कायम हुन राष्ट्रपतिले पद छाड्नुपर्ने विद्रोही समूह तालिवानले जनाएको छ ।

तालिवानले राष्ट्रपति अशरफ घानी नहटेसम्म अफगानिस्तानमा शान्ति नहुने बताएको हो । समाचार संस्था एजेन्सी एसोसिएटेडसँगको अन्तर्वार्तामा तालिवानका प्रवक्ता सुहैल शाहीन अफगानिस्तानको भविष्यका लागि अहिलेको प्रशासन विस्थापित हुनुपर्ने जिकिर गरे ।

प्रवक्ता शाहीनले अफगानिस्तानको सत्तामा एकाधिकार नचाहेको बताउँदै राष्ट्रपतिले राजीनामा दिएर नयाँ सरकार गठन नभएसम्म शान्ति नहुने बताए । काबुलमा सबै पक्षलाई स्वीकार हुने सरकार गठन भएपनि तालिवानले हथियार छाड्ने बताए ।

प्रवक्ता शाहीन तालिवानका तर्फबाट विभिन्न देशसँग तालिवानले वार्ता गरिरहेको प्रतिनिधिमण्डलका सदस्य पनि हुन् । अफगानिस्तानबाट अमेरिका र नेटो सेना बाहिरिएसँगै तालिवानले देशका भू(भागहरुमा आफ्नो नियन्त्रण बढाउँदै लगेको छ ।

राष्ट्रपति घानीले पनि तालिवानको प्रभाव बढ्दै गइरहेको स्वीकार गरेका छन् । मंगलबार मात्रै राष्ट्रपति घानीले तालिवानमाथि थप आक्रमणको तयारी भइरहेको बताएका थिए ।

सन् २ हजार १९ मा घानीले धाँधली गरेर निर्वाचन जितेको तालिवानले बताउँदै आएका छन् । राष्ट्रपति निर्वाचनमा घानी र अब्दुल्लाह अब्दुल्लाह दुबैले जितको दाबी गरेका थिए । तर पछि दुबै नेताबीच सहमतिपछि अब्दुल्लाह अब्दुल्लाहलाई सरकारमा दोस्रो वरियतामा राख्दै वार्ता समितिको अध्यक्ष बनाइएको थियो ।

यसैबीच तालिबानको आक्रमण बढेको भन्दै अफगानिस्तानमा रात्रिकालिन निषेधाज्ञा लागू भएको छ । हिंसा रोक्न र तालिबानले कब्जा गरेका स्थानमा फेरि नियन्त्रणका लागि ३४ मध्ये ३१ राज्यमा निषेधाज्ञा लागू भएको छ ।

तालिवानले त्यहाँ प्रमुख सिमानाका तथा अधिकांश जिल्लामा कब्जा गरेका छन् । उता अमेरिकाले घानीलाई नै आफ्नो समर्थन रहेको बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *