नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित
८ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सर्ने निश्चित भएको छ । तर, कहिले र कुन मितिमा गर्ने भन्ने निश्चित भइसकेको छैन । अब पार्टीको शीर्ष तहमा छलफलपछि मात्र टुंगो लाग्नेछ ।
कांग्रेसले पार्टीको सबैभन्दा तल्लो तहको संरचना मानिएको वडा तहको अधिवेशन यही साउन १२ गतेदेखि शुरु गर्नेगरी कार्यतालिका बनाएको थियो । तर यो कार्यतालिका प्रभावित हुने निश्चित भइसकेको छ ।
अब वडा तहको अधिवेशन सार्दा साउन २८ वा २९ मा गर्नेगरी सार्ने तयारी गरिएको छ । यसैगरी, पार्टीको १४औं केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ सम्म तय भएकोमा त्यो मितिसमेत भदौ अन्तिमका लागि सार्ने तयारी भइरहेको छ ।
भदौ १६ मा तोकिएको केन्द्रीय महाधिवेशन २८ भदौबाट सुरु गर्ने गरी छलफल भइरहेको बुझिएको छ । कांग्रेस सहमहामन्त्री डा प्रकाशसरण महतले वडा तह र गाउँ नगरको अधिवेशन सर्ने अवस्था रहेको बताउनुभयो ।
हाल कांग्रेसभित्र क्रियाशील सदस्यताको विवाद नटुंगिदा महाधिवेशनको पूर्व निर्धारित मिति फेरबदल हुन लागेको हो । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले असार २० भित्रै सदस्यताको काम सकेर असार ३० भित्र सभापतिलाई सदस्यताको सूची बनाइसक्नुपर्ने थियो । तर, अहिलेसम्म पनि सभापतिलाई समितिले सदस्यताको सूची बुझाउन सकेको छैन ।
सभापतिलाई सूची नबुझेसम्म त्यसले अन्तिम रूप पाउँदैन । यस्तै, सभापतिले बुझेर हस्ताक्षर गरेपछि मात्रै सदस्यताको विवरण जिल्ला हुँदै वडातहसम्म पु-याउनुपर्ने हुन्छ ।
हाल कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले ७५ जिल्लाका क्रियाशील सदस्यतासम्बन्धी काम सकिएको बताउँदै आएको छ । सप्तरी र बारामा भने बढी विवाद देखिएको छ ।
समितिले ती दुई जिल्लाको विवाद थाँती राखेर क्रियाशील सदस्यताको सूची सभापतिलाई बुझाउने तयारी गरिरहेको छ ।
प्रतिक्रिया