Main News

गठन भएको एक महिनापछि गण्डकी प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउँदै

हिमालय टिभी
२०७८ साउन ८ गते ७:४३
गठन भएको एक महिनापछि गण्डकी प्रदेश मन्त्रिपरिषदले पूर्णता पाउँदै

८ साउन २०७८ पोखरा । सरकार गठन भएको एक महिनापछि गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्को पूर्णता पाउने भएको छ ।

आज गण्डकीको मन्त्रिपरिषद् विस्तार हुने सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी दिनुभयो । हिजो मन्त्रिपरिषद् विस्तार गर्ने कार्यक्रम तय भए पनि मन्त्रालयको टुंगो नलागेका कारण यत्तिकै रोकिएको थियो ।

कांग्रेस, माओवादी र जसपा बैठकले साँझ मन्त्रालयको टुंगो लगाएर पठाएको हो । मन्त्रालयको टुंगो लागे पनि मन्त्रीको भने अझै टुंगो लागेको छैन ।

आन्तरिक विवाद र आकांक्षी बढी भएका कारण कांग्रेसले मन्त्रीको टुंगो लगाउन सकेको छैन । तर, माओवादी केन्द्रले भने मन्त्रालय पाउने निश्चित भएपछि मन्त्रीको टुंगो लगाएको छ ।

माओवादीले अर्थमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वनमा दीपक घर्तीलाई पठाउने भएको छ । प्रवक्ता खड्काले आज दिउँसो १ बजे शपथ कार्यक्रम तय भएकाले त्यस समयसम्म मुख्यमन्त्रीले कांग्रेसबाट मन्त्रीको टुंगो लगाउने बताउनुभयो ।

उहाँका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित कांग्रेसलाई भौतिक पूर्वाधार विकास, शिक्षा संस्कृति प्रविधि तथा सामाजिक विकास, पर्यटन र कानून मन्त्रालय पाउने भएको छ ।

जसपालाई उर्जा र स्वतन्त्र सांसद राजीव गुरुङलाई युवा तथा खेलकूद मन्त्रालय लिने गरी टुंगो लागेको हो ।

यसअघि कांग्रेसका कुमार खड्काले सामाजिक, माओवादीकी मधुमाया अधिकारीले स्वास्थ्य तथा जनसंख्या, जसपाका हरिशरण आचार्यले उर्जा र स्वतन्त्र सांसद गुरुङले खेलकूद मन्त्रालयको जिम्मेवारी समालिसकेका छन् ।

कांग्रेस, माओवादी, जसपा र राजमोर्चाको समर्थनमा गत जेठ २९ गते मुख्यमन्त्री बनेका कांग्रेसका कृष्णचन्द्र नेपालीले गठबन्धनबीच विवाद उत्पन्‍न हुँदा मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *