नेपाल समूहलाई बाटो बिराएको र भड्किएको भन्दै माफी दिने संस्थापन समूहको निर्णय (भिडियो रिपोर्टसहित)
७ साउन २०७८ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट नेपाल –खनाल पक्षलाई बाटो बिराएका र भड्किएका भन्दै माफी दिने निर्णय गरेको छ ।
केन्द्रीय कमिटी बैठकले एकताका लागि अन्तिम प्रयास गर्ने भन्दै माफी दिने गरी प्रयास गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टी एकताका लागि माफी दिएर भए पनि धेरै व्यक्तिलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको छ ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले सबैलाई समेट्न केही दिन अधिकतम प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
स्पष्टिकरण र कारवाहीको चेतावनीसहित आक्रामक हुँदै केन्द्रीय कमिटी बैठक शुरु गरेको संस्थापन पक्षले अन्तिम दिन लचिलो निर्णय गरेको छ ।
एकताका लागि छलफल चलिरहेकाले कारवाहीको निर्णय नभएको पनि प्रवक्ता ज्ञवालीले बताउनुभयो ।
विघटित कार्यदलका सदस्यहरुबीच छलफल चलिरहेको र कारवाही हुने नहुने भन्ने निर्णय नेपाल–खनाल पक्षका आगामी गतिविधिमा निर्भर हुने ज्ञवालीले बताउनुभयो ।
एकताको कुरा गरेपनि एमाले संस्थापनले नेपाल–खनाल समूहलाई बाटो बिराएका र भड्किएका भनेकाले एकता हुने संभावना भने यसले कमजोर बनाउने विश्लेषण गर्न थालिएको छ ।
नेपाल–खनाल समूहले आफूहरुको संघर्ष राजनीतिक र वैचारिक भएको बताउँदै आएको छ ।
प्रतिक्रिया