Main News

एमालेले आन्तरिक एकताका लागि अन्तिम समयसम्म पहल गर्ने

हिमालय टिभी
२०७८ साउन ५ गते २१:०२
एमालेले आन्तरिक एकताका लागि अन्तिम समयसम्म पहल गर्ने

५ साउन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को आजको केन्द्रीय कमिटीको बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्ने निर्णय गरेको छ ।

पार्टीको नीति विपरीत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनुभएका नेता माधवकुमार नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको एमालेले पत्र पुगेको २४ घण्टापछि सोबारे निर्णय गर्ने भएको छ ।

एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार पार्टीको विवाद समस्या समाधान कार्यदलका संयोजक सुवास नेम्वाङले आजको बैठकमा गत असार २७ मा भएको १० बुँदे सहमतिको पृष्ठभूमि र कार्यान्वयनका चरणबारे ब्रिफिङ गर्नुभएको थियो । उक्त सहमतिलाई सोमबारको बैठकले अनुमोदन गरिसकेको छ ।

आजको बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षले सम्बन्धित प्रदेशको राजनीतिक र साङ्गठनिक स्थितिबारे जानकारी तथा सुझाव दिएको र बुधबार त्यसमाथि नेतृत्वले जवाफ दिने ज्ञवालीले बताउनुभयो ।

बैठकमा भूमि व्यवस्था आयोगका अध्यक्ष देवी ज्ञवालीले सुकुम्बासी समस्या समाधानका लागि स्थानीय तहसँग सम्झौता भई कार्य भइरहेको स्थितिमा सरकारले राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरुलाई हटाएमा उचित नहुने बताउनुभएको थियो ।

बैठकमा मस्तिष्काघात भई उपचाररत पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वाेच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेका छन् । अर्काे बैठक बुधबार दिउँसो ३ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *