Main News

सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतले बढ्यो

हिमालय टिभी
२०७८ साउन २ गते १३:२६
सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतले बढ्यो

२ साउन २०७८ काठमाडौं । सरकारले लामो दूरीमा चल्ने सार्वजनिक यातायातको भाडादरमा २८ प्रतिशतसम्म वृद्धि गरेको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको हो । सार्वजनिक भएको सूचीअनुसार काठमाडौं–अत्तरीया–मार्तडी रुटमा सबैभन्दा धेरै ५७६ रुपैयाँ भाडा बढेको छ ।

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार गत असार २७ गते मन्त्रीस्तरीय निर्णयबाट अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातको भाडादर कायम गरिएको थियो ।

असार २९ गतेदेखि लागू भाडा दरअनुसार पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २६ प्रतिशत वृद्धि गरिएको छ ।

सरकारले २०६५ सालमा बनाएको वैज्ञानिक भाडा समायोजनको नियमअनुसार इन्धनको मूल्यलाई ३५ र पार्टपूर्जासहितका अन्य खर्चलाई ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

२०६९ सालपछि भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिँदै आएको थियो । २०७५ मा पनि बजारको अध्ययनबाट नगरी समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो ।

विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर भने लागू हुन सकेको अवस्था थिएन । अन्तरप्रदेश चल्ने सवारीको भाडा समायोजन भएपनि स्थानयि स्तरमा चल्ने सार्वजनिक सवारीको हकमा भने विभागले सम्बन्धित प्रदेश र स्थानीय तहले नै निर्णय लिनुपर्ने बताएको छ ।

प्रदेशभित्रका एउटा स्थानीय तहबाट अर्कोमा र एउटा जिल्लाबाट अर्कोमा चल्ने सवारीको हकमा प्रदेश सरकारले नै र स्थानीय तहभित्र सम्बन्धित स्थानीय सरकारले नै भाडा समायोजन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *