राजनीति

मापदण्ड मिचेको भन्दै कार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ३१ गते २१:०७
मापदण्ड मिचेको भन्दै कार्यकर्ताद्वारा पार्टी कार्यालयमा धर्ना (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार आज क्रियाशील सदस्यता छानविन समितिले क्रियाशील सदस्यताको बिषयमा देखा परेका समस्याका समाधान गरिसक्नुपर्ने थियो ।

थप भएको समयमा पनि समितिले विवाद समाधान गर्न सकेन् । बरु विवादकै कारण पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु भएको छ । विभिन्न क्षेत्र र जिल्लामा देखिएको क्रियाशील सदस्यता विवादकै कारण कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनेमा आशंका उत्पन्न भएको छ ।

यो नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा हो । कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । र, क्रियाशील टुंगो लगाएर अघि बढ्ने चरणमा छ । तर कांग्रेसको मेरुदण्ड मानिने क्रियाशील सदस्यता नै अहिले टाउको दुखाइको विषय बनेका छ । र क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै बारा, धनुषा र मकवानपुर जिल्लाका नेता कार्यकर्ता पार्टी केन्द्रीय कार्यालयमा धर्नामा बसेका छन ।

नेता तथा कार्यकर्ताहरु बुधवार देखि धर्नामा छन् । पार्टीको विधान विपरित केन्द्रीय नेतृत्वको स्वार्थ अनुकुल सदस्यता विरतण भएको उनीहरुको आरोप छ । विवाद समाधानका विभिन्न तहमा उजुरी दिएपनि समाधान नभएकाले धर्नामा बस्नुपरेको उनीहरुको गुनासो छ

नेपाली कांग्रेसका पूर्वसांसद, महासमिति सदस्य, प्रदेशसभा संयोजक, क्षेत्रीय सभापति, नगरसभापतिसँगै वडासभापति सम्म यो धर्नामा छन् । पार्टीको विधि विधान र विधि मिचेर गुटमा आवद्ध भएका व्यक्तिलाई मात्रै क्रियाशील सदस्यता वितरण गरिएको उनीहरुको आरोप छ ।

वडासभापति, नगरसभापति र क्षेत्रिय सभापति सम्मलाई पनि जानकारी नै नदिइ एकतर्फि रुपमा सदस्यता दिइएको उनीहरुको दावी छ । र, यो विवाद माथिसम्मै जोडिएको छ । गोपालमान श्रेष्ठ, र डाक्टर रामशरण महत लगायतका नेताहरु पुगेर ऐक्यवद्धता जनाउनुले त्यसको पुष्टि गर्छ । आफ्नो गुटलाई जिताउन विधि मिचिएको अवस्था रहेको नेता महतकै आरोप छ ।

बारा र धनुषाका असन्तुष्ट नेता कार्यकर्ता एकै ठाउँ धर्नामा बस्दा मकवानुपरका नेता कार्यकर्ताले अलगै आन्दोलन गरिरहेका छन । र, त्यसको नेतृत्वमा पूर्व सभापति रामचन्द्र अर्याल माईकलले गर्नुभएको छ ।

मकवानपुरको गुनासो पनि अरुको भन्दा अहिले फरक छ । अन्त विधि विधान मिचियो भन्ने असन्तुष्टि हुँदा मकवानपुरमा सहमति कार्यान्वयन नभएको विषयले आन्दोलन निम्त्याएको छ ।

क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधानका लागि छानविन समिति गठन गरिएको छ । तर धर्नामा बसेकाहरुले छानविन समिति माथि नै प्रश्न उठाएका छन् ।

स्थिति जे जस्तो भएपनि छानविन समितिले अन्याय नहुने गरी विवाद समाधान गनुपर्ने नेता गोपालमान श्रेष्ठ बताउनुहुन्छ ।

कार्यतालिका अनुसार असार २० गते सम्म छानविन समितिले विवाद समाधान गरी निर्वाचन समितिलाई सदस्यताको अन्तिम सूचि बुझाउनु पर्ने थियो । तर विवाद टुंगो नलागेपछि समितिकै आग्रहमा असार मसान्त सम्मको समय थपिएको थियो ।

थपिएको मिति बिहीवार सकिदैछ । र सानेपामा जारी धर्नाले यो विषय झन पेचिलो बनेको छ । यो विवादले कार्यतालिका प्रभावित हुने मात्रै नभएर महाधिवेशन नै नहोला कि भन्ने आशंका जन्मिने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्