नियुक्तिमा भाषा सच्चिएसँगै प्रधानमन्त्री देउवाले लिए शपथ

२९ असार २०७८ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
राष्ट्रपति कार्यालय शितलनिवासमा नेपाली कांग्रेसका सभापति देउवालाई शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्री देउवासँगै चार मन्त्रीले पनि शपथ ग्रहण गरेका छन् ।
देउवाले नेपाली कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई दुई जना राखेर मन्त्रिपरिषद बिस्तार गर्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री बन्नु भएको छ ।
माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बन्नु भएको छ । गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले भने आज सरकारमा सहभागी भएन ।
पार्टीमा थप छलफल गरेर सरकार जाने उसले जनाएको छ । प्रधानमन्त्री नियुक्तिको पत्रमा संविधानको धारा उल्लेख नभएको भन्दै देउवाले आपत्ति जनाएपछि शपथ समारोह दुई घण्टा ढिला भएको थियो । राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।
प्रतिक्रिया