आज प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै, भोलि मात्रै सरकारी निवास छोड्ने
२९ असार २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्नुहुने भएको छ ।
दिउँसो २ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो। सर्वोच्च अदालतले हिजो दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई आज साँझसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
आज देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिँदैछ । त्यसैले सरकारी निवास बालुवाटार छाड्नु अघि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नु भएको हो । सम्बोधनमा सरकारले आजसम्म गरेका काम र अबको भावी रणनीतिबारे जानकारी दिइने प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।
यसैबीच प्रधानमन्त्री ओली भोलि मात्रै निजी निवास बालकोट फर्किने हुनुभएको छ । नयाँ प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति र शपथको तयारी भइरहेका बेला प्रधानमन्त्री ओली भोलि मात्रै बालकोट जाने स्वकीय सचिवालयले जनाएको छ। सचिवालयका अनुसार साइत हेरेर भोलि बिहान ११ बजे प्रधानमन्त्री ओली बालकोट सर्ने तय भएको छ ।
ओलीलाई युवा विद्यार्थीले बालकोटमा स्वागत गर्ने तयारी गरेका छन्। झण्डै साढे तीन वर्ष सरकारी निवास बालुवाटार बसेका ओलीलाई सर्वोच्च अदालतले पदमुक्त गर्दै ुघर पठाउनु फैसला गरेको हो।
प्रतिक्रिया