कांग्रेस सभापति देउवा आज पाँचौंपटक प्रधानमन्त्री बन्दै
२९ असार २०७८ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौं पटक मुलुकको प्रधानमन्त्री बन्दै हुनुहुन्छ । केपी शर्मा ओली सर्वोच्च अदालतको आदेशबाट सत्ताच्युत भएपछि देउवा प्रधानमन्त्री बन्न लाग्नु भएको हो ।
देउवाले आजै पद तथा गोपनीयताको सपथ लिनुहुनेछ । नेकपा माओवादी केन्द्र र कांग्रेसलाई समेटेर आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी छ ।
विवक्षी गठबन्धनमा रहेका पार्टीहरुलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिए पनि एमालेको माधव कुमार नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र–भट्टराई पक्ष र जनमोर्चा भने अहिले नै सरकारमा नजाने भएका छन् ।
एमालेको नेपाल पक्षले अब गठबन्धनमा साथ यहाँसम्म मात्र भएको भन्दै अब सरकारमा जाने नजाने वा अबको सरकारलाई विश्वासको मत दिने नदिने पार्टीको निर्णयपछि मात्र हुने बताएको छ ।
हिजो बसेको विपक्षी गठबन्धनको बैठकमा एमाले बरिष्ठ नेता नेपालले आफ्नो पार्टीको परिस्थिति अलि फरक भएकाले एमालेको संस्थागत निर्णयअनुसार अघि बढ्ने बताउनु भएको थियो ।
त्यस्तै जसपाको यादव–भट्टराई पक्षले पनि अहिले आफ्नो पार्टीमा विवाद रहेको र विभाजनको अवस्थामा रहेको भन्दै पार्टीभित्रको विवाद समाधान नगरी अहिले नै सरकारमा नजाने बताएको छ ।
साउन ७ गते पछि मात्रै सरकारमा जाने परिस्थिति बन्ने जसपाका नेताहरुले देउवालाई जवाफ दिएका छन् । महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमै पुगेर पार्टी विभाजन गर्ने सहमति जनाइसकेका छन् । यसबारे निर्णय गर्न आयोगले गठन गरेको इजलासमा साउन ३ गते सुनुवाई हुँदैछ ।
राष्ट्रिय जनमोर्चाले सरकारमा जाने नजाने विषयमा पार्टीमा छलफल गर्ने बताएको छ । माधव नेपाल, उपेन्द्र यादवको जसपा र राष्ट्रिय जनमोर्चाले तत्कालै मन्त्री बन्न अस्वीकार गरेपछि अब काँग्रेस र माओवादीबाट कम्तिमा एकरएकजना मन्त्री मात्रै राखेर आज देउवाले प्रधानमन्त्रीमा सपथ लिने तयारी गर्नु भएको छ ।
सरकारमा सहभागि हुने मन्त्रीको चयन गर्न कांग्रेस र माओवादी केन्द्र आन्तरिक छलफलमा जुट्दैछन् ।
प्रतिक्रिया