Main News

नयाँ सरकार गठनको गृहकार्यमा विपक्षी गठबन्धन, नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरियो

हिमालय टिभी
२०७८ असार २८ गते १९:४८
नयाँ सरकार गठनको गृहकार्यमा विपक्षी गठबन्धन, नेपाल समूह विपक्षी गठबन्धनबाट बाहिरियो

२८ असार २०७८ काठमाडौं । अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश जारी गरेसँगै विपक्षी गठबन्धन नयाँ सरकार गठनको गृहकार्यमा जुटेको छ ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र स्थायी कमिटी सदस्य रघुजी पन्त समेत सहभागी बैठकले शुरुमा सानो आकारको मन्त्रिपरिषद गठन गरेर अघि बढ्ने निर्णय गरेको नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो ।

बैठकपछि जसपाका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अब सरकार बनाएपछि ओली सरकारले गरेका गलत काम सच्याउने गरी अघि बढ्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले गठबन्धनको दायरा फराकिलो बनाउँदै लैजाने बताउनुभयो ।

यसैबीच नेकपा एमालेको नेपाल खनाल पक्ष विपक्षी गठबन्धनबाट अलग भएको छ ।

औपचारिक घोषणा नगरेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको विपक्षी गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अबदेखि आफू विपक्षी गठबन्धनमा नरहने जानकारी गराउनुभएको हो ।

विपक्षी गठबन्धन आबद्ध दलको कोटेश्वरमा भएको बैठकमा नेता नेपालले संविधान, लोकतन्त्र र गणतन्त्रका पक्षमा आफ्नो समूह गठबन्धनमा आबद्ध भएको र प्रतिनिधि सभा पुनर्स्थापना भएसँगै त्यो अध्याय अहिलेका लागि सकिएकाले आफू गठबन्धनबाट बाहिरिने बताउनुभएको हो ।

नेपालले अब आफू एमाले एकताका लागि कार्यदलले गरेको सहमति अनुसार अघि बढ्ने भन्दै गठबन्धनबाट बाहिरिने निर्णय गरेको बताउनुभएको छ । एमाले नेता रघुजी पन्तले बैठकपछि त्यसको पुष्टि गर्नुभयो ।

पन्तले अब सरकारलाई समर्थन दिने नदिने निर्णय एकीकृत पार्टीले मात्रै गर्ने बताउनुभयो । नेपाल खनाल समूहको यो निर्णयले देउवालाई बहुमत पुर्याउन कठिन हुने देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *