राजनीति

अदालतको फैसला अप्रिय र त्रुटिपूर्ण भए पनि कार्यान्वयन गछौंः एमाले

हिमालय टिभी
२०७८ असार २८ गते १९:४४
अदालतको फैसला अप्रिय र त्रुटिपूर्ण भए पनि कार्यान्वयन गछौंः एमाले

२८ असार २०७८ काठमाडौं । नेकपा(एमाले)का प्रवक्ता प्रदिपकुमार ज्ञवालीले अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने बताउनु भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरु सँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले लोकतान्त्रिक प्रणाली र संसदीय प्रणालीका आधारभूत संरचनालाई खल्बल्याउने काम गरेको बताउनुभयो ।

उहाँले आजको बैठकमा उपस्थित उपलब्ध स्थायी कमिटी सदस्यहरुले राज्यका तीनवटा अंगहरुबीचको शक्ति सन्तुलनलाई हल्लाइदिने काम गरेको साझा निष्कर्ष निकालेको प्रवक्ता ज्ञवालीले बताउनुभयो । अदालतको फैसला अप्रिय र त्रुटीपूर्ण भएपनि फैसला कार्यान्वयन भने गर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेकपा एमाले स्थायी कमिटीका उपलब्ध कमरेडहरुको बिचमा आज हामीले अनौपचारिक छलफलहरु गरेका छौँ । मुख्यतया आज सर्वोच्च अदालतबाट भएको फैसला र यसबाट उत्पन्न गम्भिर परिस्थितिको बारेमा हामीले विभिन्न कमरेडहरुका धारणाहरु बुझ्ने काम गरेका छौँ । उपस्थित सबै कमरेडहरुको एउटा साझा दृष्टिकोण के रहेको छ भने यो फैसलाले नेपालको लोकतान्त्रिक प्रणालीको आधारभुत संरचनाहरुलाई निकै खल्बल्याउने काम गरेको छ ।

उहाँले सर्वोच्च अदालतको फैसला जतिसुकै अप्रिय भएपनि, त्रुटीपूर्ण भएपनि विधिको शासन पालना गर्ने पार्टी हुनुको नाताले फैसला कार्यान्वयन त हामी गर्छौ तर यसले जुन दिशातिर मुलुकको राष्ट्रिय राजनीतिलाई र प्रणालीलाई लग्न खोजेको छ हामी एकदमै चिन्तित भएका छौँ ।’

प्रवक्ता ज्ञवालीले सरकार संसदमा उपस्थित दलले बनाउने र राष्ट्रपति कार्यालयबाट त्यसको विधिवत् घोषणा गर्ने भएपनि आजको फैसलाबाट प्रधानमन्त्री सर्वोच्च अदालतले नियुक्त गर्नुपर्ने जस्तो कल्पना भन्दा बाहिरको अभ्यासको सुरु भएको पनि बताउनुभयो ।

पार्टी स्थायी कमिटिको बैठक भोलि पुनः बस्ने प्रवक्ता ज्ञावलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *