Political Hightlights

एमाले कार्यदलको बैठक आज पनि बस्दै, आज सहमति जुट्ने नेताहरुको दाबी

हिमालय टिभी
२०७८ असार २७ गते ८:०९
एमाले कार्यदलको बैठक आज पनि बस्दै, आज सहमति जुट्ने नेताहरुको दाबी

२७ असार २०७८ काठमाडौं । नेकपा एमालेमा एकताका लागि प्रयासरत कार्यदलको बैठक आज पनि बस्दैछ । आजको बैठक निष्कर्षमा पुग्ने नेताहरुले दावी गरेका छन् ।

लामो समय अनौपचारिक र सोमबारदेखि निरन्तर कार्यदलस्तरमा वार्ता गरेका दोस्रो तहका नेताहरुले शुक्रबार नै सहमतिनजिक पुगेको दाबी गरेका थिए । तर हिजो सिंहदरबारमा बसेको कार्यदलको बैठकले पनि सहमतिलाई अन्तिम रुप दिन सकेन ।

कार्यदलका एक सदस्यका अनुसार २०७५ जेठ २ मा फर्किने, एमाले पुनःस्थापित भएपछि भएका निर्णयहरु फिर्ता लिने लगायतमा सहमति जुटेको छ । सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा मौन बस्न पनि अध्यक्ष केपी शर्मा ओली पक्ष तयार देखिएको छ ।

यसअघि ओली पक्षले एमालेका २३ निवर्तमान सांसदको हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिँदै आएको थियो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले असार १८ मा पार्टी केन्द्रीय कमिटीको बैठक राखेर असार २२ गते साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन निर्देशन दिनुभएको थियो । तर नेपाल पक्ष त्यसमा सहमत छैन ।

हिजोको बैठकमा सहभागी नभएका कार्यदल सदस्य एवं नेपाल पक्षका नेता रघुजी पन्तले पनि विचाराधीन मुद्दामा बोल्न नहुने आफ्नो मत भएको बताउनु भएको थियो । कार्यदलका एक सदस्यका अनुसार अध्यक्ष ओली पक्षका नेताहरु त्यसमा सहमत देखिएका छन् ।

ती सदस्यहरुका अनुसार अहिलेसम्म भएका छलफलहरुलाई आज अन्तिम रुप दिने प्रयास हुनेछ । सहमति जुटेका कतिपय विषयको व्याख्यालगायत टुंग्याएपछि आज कार्यदल स्तरमा सहमति हुनसक्ने छलफलमा सहभागी नेताहरु बताएका छन् ।

बैठकपछि कार्यदल सदस्य एवं नेता सुबास नेम्बाङले अब एकताका लागि अन्तिम समयमा आइपुगेका भन्दै आज सुखद समाचार सुन्ने दाबी गर्नु भयो ।

त्यस्तै नेता भीम रावलले पनि छलफलको अन्तिम विन्दुमा पुगेको भन्दै छिट्टै निष्कर्ष आउने दाबी गर्नुभयो ।

कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त रहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्