कैलालीमा अन्तरजातीय विवाह गरेको जोडीलाई जबर्जस्ती छुट्याइयो (भिडियो रिपोर्टसहित)
२५ असार २०७८ काठमाडौं । कैलालीमा अन्तरजातीय विवाह गरेर जंगलमा लुक्न बाध्य भएका एक जोडीलाई युवतीका आफन्तले छुटाइदिएका छन् । केटीलाई आफन्तले केटाको घरमा नै गएर जबर्जस्ती गर्दै लिएर गएका हुन् ।
कैलालीको भजनी नगरपालिका–४ का प्रकाश विश्वकर्मा र जानकी गाउँपालिकाकी मालती रावलले असार पहिलो साता घरबाट भागेर अन्तरजातीय विवाह गर्नुभयो । तर केटी पक्षको परिवारले विवाह स्वीकारेन । त्यसपछि उहाँहरु लुकेरै जंगलमा बस्नुभयो । र सहयोगका लागि अपिल गर्दै एउटा भिडियो सार्वजनिक गर्नुभयो ।
यसरी सहयोग माग्ने जोडी प्रकाशको घर फर्क्यो । तर घर पुगेपछि आफन्तले आएर मालतीलाई लिएर गएका छन् । २५–३० जनाको समूहले प्रकाशलाई कुटपिट गर्दै मालतीलाई लगेको र अहिले मालती आफ्नो सम्पर्कमा नरहेको प्रकाशको भनाइ छ ।
राजीखुसीले प्रकाशसँग विवाह गरेकी मालती गर्भवती हुनुहुन्छ ।
यो जोडीलाई केटीका परिवारले रुकुम घटना दोहोर्याइदिने धम्की दिएका छन् । त्यसैले यो जोडीले जंगलबाटै सार्वजनिक गरेको भिडियामा सुरक्षा मागेको थियो ।
प्रहरीले भने कुटपीट नभएको तर मालती रावललाई परिवारले लगेको बताएको छ । केटाकेटी सम्पर्कमा रहेको र अहिलेसम्म उजुरी नपरेको बताएको छ ।
गत वर्ष वैशाखमा रूकुम पश्चिमको चौरजहारीमा भएको घटनामा नवराज विकसहित ६ जना युवकको हत्या भएको थियो ।
त्यो घटना दोहोर्याउने धम्की दिएको परिवारले मालतीलाई लिएर गएपछि झनै खतरा बढेको छ । तर जातीय विभेदसँग जोडिएको यो घटनामा प्रहरीले उजुरी आएको छैन भनेर पञ्छिन खोजेको छ, जुन गलत हो ।
प्रतिक्रिया