Main News

रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह, रेबिज के हो र यसबाट कसरी बच्ने ?

हिमालय टिभी
२०७८ असार २५ गते १६:३२
रेबिजबाट तीनको मृत्यु : सावधानी अपनाउन आग्रह, रेबिज के हो र यसबाट कसरी बच्ने ?

२५ असार २०७८ काठमाडौं । प्राणघातक रोग रेबिजबाट काभ्रेपलाञ्चोकमा तीन जनाको मृत्यु भएको छ । एक महीनाको अवधिमा जिल्लाको एकै गाउँका आठ वर्षीय बालकसहित तीनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चौँरीदेउराली गाउँपालिका–६ का आठ वर्षीय सुशन पहरी, ४४ वर्षीय सुब्बा लामा र ८० वर्षीय तेजप्रसाद पन्त रहेका छन् । पहरीको गत वैशाख १० गते र अन्य दुईको गत चैत २९ गते उपचारका क्रममा मृत्यु भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

यसैगरी २०७६ साल माघ १७ गते धुलिखेल नगरपालिका–४ का २२ वर्षीय राधाकृष्ण मगरको रेबिज रोगबाट मृत्यु भएको केन्द्रले जनाएको छ । मगरले ढलमा खसेको सानो कुकुरलाई निकाल्ने क्रममा टोकेपछि परीक्षणमा रेबिज पोजेटिभ देखिएको थियो । मृत्यु भएका चारै जनालाई कुकुरले टोकेका कारण रेबिज रोग लागेको थियो । रेबिजका कारण २०७७ मङ्सिरमा धुलिखेल–४ कै एक गाईकोसमेत मृत्यु भएको थियो । उक्त गाईलाई पनि सङ्क्रमित कुकुरले नै टोकेको थियो ।

दुई महीनाअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ । केन्द्रले चौंरीदेउराली गाउँपालिकामा तीनको मृत्यु भएपछि, बनेपा नगरमा गत साल पुस तथा धुलिखेल नगरमा यही असार ८ गते सामुदायिक तथा छाडा कुकुरमा रेबिजको नमूना परीक्षण गरेको छ । नमूना परीक्षण गरिएका कुकुरमा रेबिजको भाइरस भेटिएपछि चौँरीदेउरालीमा यसविरुद्धको २०० भ्याक्सिन पठाइएको केन्द्रले जनाएको छ ।

केन्द्रले प्राणघातक रोग रेबिजबाट मानिसको मृत्यु हुन थालेपछि जिल्लाका बनेपा, धुलिखेल र पनौती नगरपालिकामा गरेको सर्वेबाट सात हजार ५०० सामुदायिक तथा छाडा कुकुर रहेको जनाएको छ । यसमध्ये तीन हजार कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउँदै स्थायी बन्ध्याकरण गरिएको केन्द्र प्रमुख डा मोगलप्रसाद शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “यी तीन नगरपालिकाको बाँकी कुकुरलाई क्रमशः भ्याक्सिन लगाउँदै बन्ध्याकरण गरिनेछ ।” उहाँका अनुसार जिल्लाको १३ स्थानीय तहमा कुकुरको सर्वेगर्दै भ्याक्सिन तथा बन्ध्याकरण कार्यक्रम बिस्तार गर्दै लगिनेछ । सम्भावित जोखिम न्यूनीकरण गर्न हाल दुई हजार भ्याक्सिन केन्द्रमा ल्याइएको छ ।

यसैबीच केन्द्रमा हाल सामुदायिक तथा छाडा कुकुरको स्थायी बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको छ । वाग्मती प्रदेशस्थित पशुपक्षी तथा मत्स्यविकास निर्देशनालाय हेटौँडाको सौजन्य तथा नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर (नार्क)को प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा १०० कुकुरलाई रेबिजविरुद्धको खोप तथा स्थायी बन्ध्याकरण गर्ने योजना छ । सामदायिक र छाडा कुकुरलाई रेबिजविरुद्धको खोप र स्थायी बन्ध्याकरण तथा रोगबारे जनचेतना फैलाउँदा रोगको न्यूनीकरण गर्न सकिने जनाइएको छ ।

रेबिज के हो र यसबाट कसरी बच्ने ?
रेबिज जनावरको टोकाइका क्रममा ¥यालबाट सर्ने प्राण घातक रोग हो । यो रोग लागेपछि त्यसको सङ्क्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ । विशेषगरी यो रोगबाट सङ्क्रमित कुकुर, बिरालो, मुसा वा जङ्गली जनावरको टोकाइबाट सर्ने प्रमुख शाहले बताउनुभयो ।

यो प्राण घातक रोग भएपनि आत्तिनुपर्ने रोग नभएको उहाँको भनाइ छ । रेबिज विरुद्धको खोप आइसकेको र टोकाइपूर्व नै त्यस्तो खोप लगाउँदा रोगबाट बच्न सकिन्छ । यस्तै त्यस्ता जनावरले टोकेमा तत्काल साबुन पानीले घाउ धोएर तत्काल चिकित्सकको सल्लाहअनुसार उपचार गरे पनि रेबिजबाट बच्न सकिन्छ । तर बहुलाएको कुकुर वा त्यस्तो रोग लागेको शङ्का लागेका जनावरले टोकेपछि पनि हेलचेक्रयाई गरी रेबिजविरुद्धको खोप लगाउन ढिलाइ गरे मानिसको ज्यानै जाने उहाँको भनाइ छ । यस्तै रोग लागेको जनावरको ¥याल घाउमा परेमा वा त्यस्तो जनावरको जुठो खाएमा पनि रेबिज रोग सर्छ ।

स्वास्थ्य तथ्याङ्कअनुसार नेपालमा वर्षेनी २०० बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको छ । प्राणघातक रेबिज रोग नियन्त्रणको लागि अन्तर्राष्ट्रियरुपमा जनचेतना जगाउन तथा सरोकारवालाबीच ऐक्यबद्धता प्रकट गर्न प्रत्येक अङ्ग्रेजी वर्षको सेप्टेम्बर २८ को दिनलाई ‘अन्तर्राष्ट्रिय रेबिज दिवस’का रुपमा मनाउने गरिएको छ । विश्वमा आगामी सन् २०३० सम्ममा रेबिज रोग उन्मूलन गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *