अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता निष्कर्षविहीन

२४ असार २०७८ काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको वार्ता विना निस्कर्ष टुंगिएको छ । तर वार्ता सकारात्मक भएको नेताहरुले बताएका छन् ।
हिजो साँझ नक्सालको एक होटलमा भएको वार्तामा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफूलाई निःशर्त सहयोग खोजेपछि सहमति जुट्न नसकेको हो ।
तर सहमतिको प्रयास जारी रहने नेताहरुले बताएका छन् । सहमति खोज्न कार्यदलको बैठक आज पनि बस्दैछ । कार्यदलका सदस्य भीम रावलले सहमतिको प्रयास जारी रहने बताउनु भएको छ ।
ओली र नेपालबीच केहीबेर वान टु वान वार्तापछि कार्यदलका सदस्यहरु पनि सहभागी भएका थिए । कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले वार्ता सकारात्मक भएको र अब बाँकी कार्यदलले टुंग्याउने बताउनुभयो ।
अनौपचारिक वार्ता र कार्यदलमा भएको छलफलहरुमा ओली पक्षका नेताहरुले दुई नेताबीच भेट भएपछि जसरी पनि सहमति गराउने बताएका थिए ।
असार १८ गते केन्द्रीय कमिटीको बैठक राखेर सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका अध्यक्ष ओलीले भोलिपल्ट फैसला आउँदासम्म हस्ताक्षर कायमै राख्नेहरु एमाले नरहने घोषणा गर्नु भएको थियो ।
तर त्यसको भोलिपल्ट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेता नेपालको निवासमा पुगे र संयुक्त वक्तव्य जारी गर्ने प्रस्ताव राखेका थिए ।
वरिष्ठ नेता नेपाल त्यसमा सहमत भए पछि कार्यदललाई ब्यूँताएर छलफल अघि बढेको हो ।
प्रतिक्रिया