राजनीति

जसपा विवाद : आ–आफ्नो बाटो लाग्न दुबै पक्ष सहमत (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २२ गते २०:४५
जसपा विवाद : आ–आफ्नो बाटो लाग्न दुबै पक्ष सहमत (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमै फूटको प्रक्रियामा अघि बढेको छ । निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् । मिल्न सक्दैनौं बरु कानून अनुसार गरिदिनुस् भनेपछि अब निर्वाचन आयोगले इजलास गठन गरी कुनै एक समूहलाई आधिकारिकता दिनेछ ।

एक अर्कामाथि कारवाही गर्दै सिध्याउन कस्सिएका जसपाका उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई मंगलवार बोलाएर निर्वाचन आयोगले मिल भन्यो । छलफल पनि भयो । तर मिल्नुको साटो जसपाका नेताहरु आरोप प्रत्यारोपमा उत्रिए । एक अर्कालाई एकता विरोधी भनेर दोषारोपण गरे ।

र, छलफलको अन्त्यमा मिल्दैनौं अलग गरिदिनुस भनेर निर्वाचन आयोगसमक्ष अनुरोध मात्रै गरेनन, छुट्टिनका लागि हस्ताक्षर समेत गरे । निर्वाचन आयोगसितको छलफलपछि ठाकुर पक्षीय नेता अनिलकुमार झाले अब जसपा औपचारिक रुपमै विभाजन हुन लागेको जानकारी दिनुभयो ।

पार्टी विभाजन हुनुमा दुवै पक्षले एक अर्कालाइ दोष लगाएका छन । आयोगका पदाधिकारी समक्षनै उपेन्द्र यादव पक्षले संसद विघटनको विरोधमा उभिनुपर्ने र पार्टी बहुमतको निर्णय मान्नुपर्ने लगायतका पाँच वटा शर्त राख्यो । ठाकुर पक्षले गल्ती गरेकोले आत्मालोचना गर्नुपर्ने र माफी माग्नुपर्ने उसको शर्त छ । किनकी जसका कारण एकता संकटमा पर्यो सच्याउन पनि उसैले पर्ने यादवको पक्षको तर्क छ ।

यादव पक्षको शर्त ठाकुर पक्षलाई कुनै पनि हालतमा स्वीकार्य थिएन र छैन । जसले उपेन्द्र यादवको पार्टी विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले फूटाउन लाग्दा बचाईदियो, उसैसित शर्त राख्नु गलत हो भन्ने ठाकुर पक्षको तर्क छ । र, आफू होईन, यादव पक्षनै प्रतिगामी भएको उसको आरोप छ ।

कुरा नमिलेपछि अब जसपाको विवाद कुनै एउटा पक्षले आधिकारिकता पाउने प्रक्रियामा प्रवेश गरेको छ । कानूनी प्रक्रियाबाट पार्टीको आधिकारिकताको विवाद टुंग्याउनका लागि पनि दुवै पक्षको सहमति चाहिन्छ। त्यसका लागि आयोगले दुवै पक्षको हस्ताक्षर गराएको छ। अब आयोगले कानून अनुसार, इजलास गठन गरेर विवाद टुङ्गो लगाउनेछ ।

आयोगले गठन गर्ने इजलासले दुवै पक्षले बुझाएका कागजात अध्ययन र छानबिन गर्नेछ। त्यसका आधारमा आयोगले एउटा पक्षलाई आधिकारिकता दिनेछ भने अर्को पक्षले नयाँ दल दर्ता गर्नुपर्नेछ। आधिकारिकता पाउन केन्द्रीय समितिको बहुमतले निर्णय गर्नुपर्छ। अहिले यादव पक्ष बहुमतमा छ ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा यादव पक्षका ३० जना छन्। विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर समाजवादी पार्टी फूटाईदिन खोजेपछि तत्कालीन राजपा र समाजवादीबीच एकता भएर जसपा बनेको थियो । तर हिजो ओलीका कारण जुटेका पार्टी अहिले फेरि ओलीकै कारण फूट्दैछन । किनकी एउटा समूह ओलीलाई बोक्ने र अर्को फ्याँक्न भनेर लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्