राजनीति

एमाले कार्यदल छलफलः नेपाल-खनाल समूह उत्साहित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २२ गते १९:२३
एमाले कार्यदल छलफलः नेपाल-खनाल समूह उत्साहित (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ काठमाडौं । नेकपा एमालेको विवाद समाधान कार्यदलमा विषयगत छलफल शुरु भएको छ । विवादका विषय किटान गरी आजदेखि छलफल शुरु भएको हो ।

सिंहदरबारमा भएको छलफलमा आज पार्टीका सबै कमिटीलाई ०७५ साल जेठ २ मा फर्काउने, पार्टीको केन्द्रीय कमिटी २ सय ३ कि २ सय ४१ भनेर किटान गर्ने, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद विघटन विरुद्धको मुद्दा तथा पूर्व माओवादी नेताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा आज छलफल भएको छ ।

एक नेताका अनुसार पार्टीका सबै कमिटीलाई ०७५ साल जेठ २ मा फर्काउने विषयमा सहमति भैसकेपनि अरु तीन वटा विषयमा सहमति हुन बाँकी छ । यसबारे भोलि बस्ने बैठकमा छलफल हुनेछ ।

आजको छलफलपछि एमालेको नेपाल खनाल पक्षीय नेताले छलफल सकारात्मक र उत्साहजनक रहेको प्रतिक्रिया दिएका छन । नेपाल खनाल पक्षका वार्ता टोली संयोजक भीम रावलले तत्कालै कुरा मिल्न नसकेपनि समाधान खोज्ने सहमति भएको बताउनुभयो ।

कार्यदलका सदस्य एवं नेकपा एमालेका सचिव गोकर्ण बिष्टले वार्तामा हिजोभन्दा प्रगति भएको र विषय केन्द्रीत छलफल अघि बढेको जानकारी दिनुभयो । आजको छलफलले समाधानमा पुग्नका लागि आधार तयार गरेको बताउनुभयो ।

हिजोदेखि काम थालेको कार्यदलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त रुपमा हस्ताक्षर गरी जारी गर्ने गरी सहमतिका विषय तयार पार्नेछ । तर आज संयुक्त वक्तव्य निकाल्ने विषयमा कुनै छलफल नभएको नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

कार्यदलमा ओली पक्षको नेतृत्व सुवासचन्द्र नेम्वाङ र नेपाल खनाल पक्षको नेतृत्व भीम रावलले गर्नुभएको छ ।

कार्यदलमा दुवै पक्षका गरी १० जना छन । पहिले कार्यदल ब्यूँताउन नमानेका एमाले अध्यक्ष ओली हिजो नेपाल खनाल पक्षले देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर चेतावनीका बावजुद पनि फिर्ता नलिएपछि कार्यदल ब्यूँताएर छलफल गरी समाधान खोज्न सहमत हुनुभएको थियो ।

एमालेभित्र संसद विघटनको मुद्दामा फैसला आउनुअघि समाधान खोज्ने प्रयास भैरहेको छ । २८ गते फैसला आउने संभावना छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्