केही अस्पतालले सरकार र बिरामी दुबैसँग रकम असुलेको खुलासा

२२ असार २०७८ काठमाडौं । सरकारसँग कोरोना संक्रमितको निशुल्क उपचार गर्ने सम्झौता गरेका केही अस्पतालले सरकार र बिरामी दुबैसँगबाट रकम असुलेको पाइएको छ ।
बिरामीले उजुरी दिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छानबिनमा केही अस्पतालले दोहोरो रकम असुलेको पाइएको हो ।
यसरी बिरामीसँग पनि पैसा लिने र सरकारसँग पनि अनुदान लिने अस्पताललाई कारबाही गरिने मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।
सरकारसँग सम्झौता गरेका अस्पतालले सामान्य रगत परीक्षण सिरम युरिया, क्रियाटिनन, सुगर, सीआरपी, हेमोग्लोबिन, प्लेटलेट्स, ईएसआर परीक्षण, छातीको एक्सरे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि र बेडको शुल्क लिन पाउँदैनन् ।
त्यसैगरी दिनमा चार छाक खाना तथा खाजा, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क हुनेछ । तर केही अस्पतालले यी विषयमा शुल्क लिएको पाइएको मन्त्रालयले जनाएको छ ।
सरकारले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडीयुमा बसेको ३५ सय र आईसफयु तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको थियो ।
प्रतिक्रिया