Political Hightlights

जसपा औपचारिक रुपमै फूटको प्रक्रियामा, कानूनअनुसार अलग गरिदिन आयोगसँग आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २२ गते १५:०५
जसपा औपचारिक रुपमै फूटको प्रक्रियामा, कानूनअनुसार अलग गरिदिन आयोगसँग आग्रह (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अब औपचारिक रुपमै फूटको प्रक्रियामा अघि बढेको छ । निर्वाचन आयोगमा भएको छलफलमा दुबै पक्ष पार्टी एकताको साटो फुटेर आ–आफ्नो बाटो लाग्न सहमत भएका हुन् ।

सहमतिका लागि जसपाका दुबै पक्षलाई बोलाएर आयोगले छलफल गरेपनि दुबै पक्षले आफ्नो दावी नछाड्दै अलग भएर जाने भन्दै कानून अनुसार गरिदिन आयोगलाई आग्रह गरेका छन ।

छलफलपछि नेता अनिल झाले आफूहरू मिलेर जान नसक्ने कुरा आयोगसमक्ष बताएको जानकारी दिनुभयो । छुट्टिने सहमति गरेको र अब आयोगले निर्णय गर्ने झाले बताउनुभयो ।

अब दुबै पक्षले आधिकारिकताका लागि दावी पेश गर्नेछन । एकता हुन नसक्नुमा दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका छन । महन्थ ठाकुर पक्षले गल्ती सुधार्न नमानेकोले समस्या परेको उपेन्द्र यादव पक्षीय नेता महिन्द्र राय यादवले दावी गर्नुभयो ।

कुरा नमिलेपछि आयोगले उनीहरुलाई दल दर्तासम्बन्धी ऐनअनुसार दावी लिएर आउन भनेको छ । अब ईजलाश गठन गरेर कुन समूह आधिकारिक हो भनेर निर्णय गर्ने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

यसअघि जसपा अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादव र यादव पक्षले ठाकुर पक्षका नेतामाथि कारवाही गरेर निर्वाचन आयोगलाई जानकारी गराएका थिए । तर दुवै पक्षको कारवाही प्रक्रियासम्मत नभएको भन्दै आयोगले छलफलका लागि बोलाएको थियो ।

२०७७ वैशाख १२ गते तत्कालीन संघीय समाजवादी पार्टी र राजपा मिलेर जसपा बनेको थियो । संसद विघटन र ओली सरकारको विकल्प खोज्ने नखोज्ने विषयमा जसपा दुई धारमा विभाजित भएर फूटको अवस्थामा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्