Political Hightlights

देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता एमालेमा एकताको यस्तो नयाँ प्रयास शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार २१ गते १९:०३
देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता एमालेमा एकताको यस्तो नयाँ प्रयास शुरु (भिडियो रिपोर्टसहित)

२१ असार २०७८ काठमाडौं । नेकपा एमालेका २३ जना सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिएपछि एमालेभित्र फेरि नयाँ ढंगले एकताको प्रयास शुरु भएको छ ।

विवादका समाधानका लागि गठित कार्यदल ब्यूँताएर एकताको प्रयास शुरु गरिएको छ । अहिले सिंहदबारमा कार्यदलको बैठक बसिरहेको छ । सर्वोच्च अदालतमा बहस सकिएर २८ गतेसम्म फैसला नआउने भएपछि एकताका लागि अर्को प्रयास शुरु भएको छ ।

आज बेलुकी पाँच बजेसम्म हस्ताक्षर फिर्ता नभए त्यो पार्टी फूटको घोषणा हुने र नेपाल–खनाल समूहका नेता एमाले नरहने घोषणा गरेका ओली हस्ताक्षर फिर्ता नभएपनि फेरि कार्यदल ब्यूँताएर समाधान खोज्न तयार हुनुभएको हो ।

कार्यदलमा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ र नेपालका तर्फबाट भीम रावलले नेतृत्व गर्नुभएको छ । कार्यदलले एमालेको एकताका लागि संयुक्त मस्यौदा बनाउनेछ । वरिष्ठ नेता माधवकुमार नेपालले माग गरे अनुसार कार्यदल ब्यूँताइएको हो ।

कार्यदलमा छलफल शुरु भएपनि दुवै पक्ष आ–आफ्ना अडानमा कायमै छन । संसद विघटनको मुद्दामा २८ गते अघि फैसला नआएकोले त्यतिञ्जेलसम्म नेपाल खनाल पक्ष आफ्नो गलत कामबाट पछि हट्नुपर्ने ओली पक्षको अडान छ । तर छलफल जारी नै रहने नेकपा एमालेका नेता विशाल भट्टराईले बताउनुभयो ।

नेपाल–खनाल पक्ष भने आफूले जे गरेको हो त्यो सही भएको र देशका हितमा भएको अडानमा छ । पार्टी भित्र सहमतिका लागि ओली ०७५ साल जेठ २ मा फर्किनुपर्ने नेपाल खनाल पक्षीय नेता मेटमणि चौधरीले बताउनुभयो । ओलीलाई अहिले एमालेकै अध्यक्ष मान्न नसकिने भएकाले अरु कुराको कुनै अर्थ नभएको बताउनुभयो ।

दुवै पक्ष आ–आफ्नो अडानमा बसेर विभाजनको औपचारिक स्थिति आएपछि कार्यदललाई सक्रिय बनाइएको हो । कार्यदलले ओली र नेपालको हस्ताक्षर हुने गरी संयुक्त दस्तावेज तयार पार्नेछ ।

कार्यदलले संसद पुनर्स्थापना भए र नभएको अवस्थामा के गर्ने भन्ने पनि एकताको खाका बनाउनेछ । ओली पक्ष संसद पुनर्स्थापना भएमा अहिलेको सरकारलाई निरन्तरता दिने, माधकुमार नेपाललाई सम्मानजनक स्थान दिएर सहमति गरेर विपक्षी गठबन्धनबाट फिर्ता गराउने कोशिसमा छन् ।

कार्यदलमा ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट संयोजक भीम रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्