Main News

संसद विघटनविरुद्धको रिटमा आज तीन वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्दै

हिमालय टिभी
२०७८ असार २१ गते ८:१९
संसद विघटनविरुद्धको रिटमा आज तीन वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्दै

२१ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा जारी सुनुवाइअन्तर्गत आज निवेदक पक्षका ३ जना वरिष्ठ अधिवक्ताले जवाफी बहस गर्दैछन् ।

रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले जवाफी बहस गर्नेछन्। रिट निवेदकको जवाफी बहसका लागि तोकिएको ३ घण्टाको समयमध्ये अब २ घण्टा बाँकी छ ।

हिजो सभामुख पक्षका कानून व्यवसायीले बहस सकाएका थिए । सभामुखका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेलले संविधानअनुसार विश्वासको मत लिनुपर्ने अनिवार्य शर्त भएपनि त्यसको पालना नगरेको र राष्ट्रपतिले संविधानको संरक्षण गर्न चुकेको तर्क राख्नुभएको थियो ।

सभामुखका कानून व्यवसायीको बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा रिट निवेदक पक्षका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गर्नुभएको थियो ।

प्रधानन्यायाधीश राणा र अन्य न्यायाधीशहरुले जवाफी बहस शुरु गर्नुअघि विभिन्न प्रश्नहरु राख्नु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले निवेदकको दाबी अनुसार आदेश जारी गरे संविधानले परिकल्पना गरेको बहुलवादमा आधारित बहुदलीय शासन व्यवस्था क्षतविक्षत हुन्न र भनी प्रश्न गर्नुभयो ।

न्यायाधीशहरुले शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको दाबी पेश गर्दा नक्कली कागजात पेश भएको, केरमेट गरिएको, टिपेक्स लगाएको, १ सय ४६ जनाको रिट निवेदनमा पाँच जना मात्र निवेदक रहेको लगायतका प्रश्न गरेका छन् ।

आज पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि एमिकस क्युरीले इजलासलाई राय दिने क्रम शुरु हुनेछ। सर्वोच्चको संवैधानिक इजलासले एमिकस क्युरीका लागि २ घण्टाको समय छुट्याएको छ ।

पक्षका कानून व्यवसायीको २ घण्टा र एमिकस क्युरीको २ घण्टा गरी संसद विघटनको मुद्दामा अब ४ घण्टा मात्र बहस हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *