नेपालसँग सहमतिको प्रयास गर्न अध्यक्ष ओलीद्वारा नेता रावलसँग आग्रह

२१ असार २०७८ काठमाडौं । वरिष्ठ नेता माधव कुमार नेपालसँग सहमतिका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावललाई पहल गर्न आग्रह गर्नुभएको छ ।
वरिष्ठ नेता नेपालले आफूसँग भेट्न समेत अस्वीकार गरेपछि एमाले अध्यक्ष ओलीले दोस्रो तहका नेताहरुको आग्रहमा उपाध्यक्ष भीम रावलमार्फत् सहमतिको प्रयास थाल्नुभएको हो ।
एकताका लागि वार्ता गरिरहेका दुबै पक्षका नेताहरुको आग्रहमा प्रधानमन्त्री ओलीले उपाध्यक्ष रावललाई हिजो साँझ बालुवाटर बोलाउनुभएको थियो ।
यसअघि उपमहासचिव घनश्याम भुसालमार्फत् नेपाललाई ओलीसित संवाद गराउने प्रयास असफल भएपछि अध्यक्ष ओली र उपाध्यक्ष रावलका बीच छलफल भएको हो ।
ओलीले देउवालाई प्रधानमन्त्री बनाउन नेपाल निकट २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिन आज साँझ ५ बजेसम्मको अल्टिमेट दिनुभएको छ ।
नेपाल पक्षका नेताहरुले भने सहमतिको आधार तयार भइसकेको अवस्थामा ओलीले एकलौटी केन्द्रीय कमिटी बैठक राखेपछि सहमतिको वातावरण भड्किएको बताउँदै आएका छन् ।
यसैबीच आज पनि एमाले एकताका लागि दोस्रो तहका नेताहरुबीच छलफल हुने छ । अध्यक्ष ओली पक्षले आज साँझसम्म हस्ताक्षर फिर्ताको वातावरण नबने एमाले एकताको सबै प्रयास सकिएको मानिने चेतावनी दिएको छ ।
प्रतिक्रिया