तीनबुँदे सहमति कार्यान्वयन नगरे सरकारले मूल्य चुकाउनुपर्ने विप्लव समूहको चेतावनी (भिडियो रिपोर्टसहित)
![तीनबुँदे सहमति कार्यान्वयन नगरे सरकारले मूल्य चुकाउनुपर्ने विप्लव समूहको चेतावनी (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2021/07/Khadga-bahadur-bishwakarma.jpg)
२० असार २०७८ काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति कार्यान्वयन नगरे सरकारले मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले संसदमा रहेका दलहरुको विवादले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि सरकार इमान्दार हुनुपर्ने बताउनुभयो ।
सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटपछि भएको पत्रकार सम्मेलनमा विश्वकर्माले सहमति कार्यान्वयन नभए त्यसको मूल्य सरकारले चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
प्रवक्ता विश्वकर्माले सहमति अनुसार बन्दी भएका आफ्ना नेता कार्यकर्ता छोड्न ढिलाई भइरहँदा जनस्तरमा विभिन्न प्रश्न उठेको भएपनि सम्झौताको राजनीतिक महत्व घट्यो भन्ने भनाइमा सत्यता नभएको दाबी गर्नुभयो ।
उहाँले सरकार र आफ्नो पार्टीबीचको सहमति राजनीतिक मुद्दा भएकाले कुनै पनि राजनीतिक दल वा सत्तापक्ष वा प्रतिपक्षीहरु सहमतिको विरुद्ध जानुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।
प्रवक्ता विश्वकर्माले आज प्रधानमन्त्रीसँग भएको भेटघाटले जनतालाई आशावादी र उत्साहित बनाउने दाबी गर्नुभयो ।
प्रतिक्रिया