Main News

यो वर्षको बाढीपहिरोमा ३८ जनाको मृत्यु, ३१ जना अझै बेपत्ता, ४७ जना घाइते

हिमालय टिभी
२०७८ असार १९ गते १८:५३
यो वर्षको बाढीपहिरोमा ३८ जनाको मृत्यु, ३१ जना अझै बेपत्ता, ४७ जना घाइते

१९ असार २०७८ काठमाडौं । गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले यसबर्षको बाढी तथा पहिरोमा परेर ३८ जनाको ज्यान गएको जनाएको छ ।

गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिल तामाङले यो बर्ष बाढी तथा पहिरोका कारण ३८ जनाले ज्यान गुमाएको र ३१ जना अझै हराइरहेको जानकारी दिनुभएको हो । उहाँका अनुसार बाढी पहिरोमा परेर ४७ जना घाइते भएका छन् ।

आज मात्रै गोर्खा २ र धादिङमा २ गरेर ४ जनाको पहिरोका कारण मृत्यु भएको छ । अहिलेसम्म २ सय २ वटा विपदको घटना रिपोर्टिङ्ग भएको उहाँले जानकारी दिनुभयो । ४ सय ९५ घर पूर्ण क्षति भएका छन् । १ सय १२ घर आंशिक क्षति भएका छन् ।

सामुदायिक भवन, विद्यालयहरुमा पनि क्षति पुगेको छ । ३ दर्जन सरकारी कार्यालयमा क्षति भएको छ । त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्की पुल, निर्माणाधिन र सञ्चालनमा रहेका साना ठुला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ । उहाँले यो बर्षको मनसुनजन्य क्षति शुरुवातमा नै निकै भयावह बनेर आएको र आफुहरु त्यसको प्रतिकार्यमा लागेको बताउनुभयो ।

मनसुन शुुरु भएलगत्तै अवरुद्ध बनेका मनाङ जाने बाटो, बाजुरा जाने बाटो र सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो लामो समयदेखि अवरुद्ध छ । सानासाना पहिरो र बाढीका कारण अवरुद्ध भएका सडक तत्काल सञ्चालनका लागि पहल गरिएको र सञ्चालन भएको भए पनि केही स्थानको बाटोहरु लामो समय देखि अवरुद्ध रहेको प्रमुख तामाङले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “पहिरोका कारण दर्जनौ स्थानमा सडकहरु अवरुद्ध भएका छन् । विगत लामो समयदेखि मनाङ, बाजुरा, सिन्धुपाल्चोकको तातोपानी नाका जाने बाटो अवरुद्ध छ । हिजोको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन खण्डमा अवरुद्ध भएको बाटो अहिले एकातर्फी सुचारु भएको छ । विपि राजमार्ग अन्तर्गत काभ्रे सडकखण्ड पनि एकातर्फी बाटो सुरु भएको छ । आज मध्यपहाडी लोकमार्गको खोटाङको हलेसी खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । त्रिभुवन राजपथको मकवानपुर खण्डमा पहिरो गएर बाटो अवरुद्ध भएको छ । अवरुद्ध भएका धेरै बाटोहरु सञ्चालन गर्नका लागि तत्काल प्रयास जारी छ । सिन्धुपाल्चोक, मनाङ र बाजुरा जाने बाटो धेरै समयदेखि अवरुद्ध भएको छ । ती सडक खुलाउने प्रयास जारी छ । ”

उल्लेखित मनसुनजन्य क्षति गत जेष्ठ ३१ गते देखि असार १९ गते सम्मको विवरण हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *