Main News

चीनको साइनोफार्म कम्पनीसँग कोरोनाविरुद्धको खोप खरीदसम्बन्धी सम्झौता

हिमालय टिभी
२०७८ असार १९ गते ७:५१
चीनको साइनोफार्म कम्पनीसँग कोरोनाविरुद्धको खोप खरीदसम्बन्धी सम्झौता

१९ असार २०७८ काठमाडौं । नेपाल सरकार र चीनको बेइजिङस्थित साइनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ ।

पछिल्लो सम्झौताअनुसार असार २४ गतेदेखि खोप आपूर्ति शुरु भइ साप्ताहिकरुपमा विभिन्न चरणमा खोप आपूर्ति गर्ने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर कति मूल्यमा कति खोप आपूर्तिका लागि सम्झौता भएको नखुलाइए पनि ४० लाख डोज खरिदका लागि सम्झौता भएको बुझिएको छ । जानकारी दिन नमिल्ने ‘नन् डिस्क्लोजेवल एग्रिमेन्ट अनुसार खोप खरीद गरिएकाले थप कुराहरु भन्न मिल्दैन’ मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २ साता चीनसँग ननडिस्कोजेवल एग्रिमेण्ट गर्न सरकारले पहल गरिरहेको थियो । नेपालले खोप खरीदको लागि प्रस्ताव राख्दा चीनले गोप्य सम्झौता गर्नुपर्ने बताएको थियो । खोप खरीदको लागि अन्य विकल्प बन्द भएपछि सरकार गोप्य सम्झौताको लागि तयार भएको हो ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले बेइजिङबाट थप खोप ल्याउनेछ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार २४ गते वाइड बडी जहाज पठाउने तयारी गरिएको निगमले जनाएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनबाट खोप ल्याउनका लागि वाइड बडी जहाज बेइजिङ पठाउने तयारी गरिएको जानकारी दिनुभयो । खोप लिएर निगमको जहाज भोलिपल्ट काठमाडौँ फर्किनेछ ।

पहिलो उडानमा १० लाख मात्रा खोप ल्याउने गरी तयारीमा रहन निगमलाई निर्देशन दिइएको छ । खोपको निरन्तर आपूर्तिपछि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन हुने मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यसका साथै गाभी कोभ्याक्स फ्यासिलिटीबाट पनि छिट्टै खोप प्राप्त गरी कोभिड–१९ विरुद्धको खोप कार्यक्रमको विस्तार हुने मन्त्रालयले जानकारी दिएको छ । यही असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा प्रदान गरिँदैछ ।

हालसम्म कूल ४२ लाख ४८ हजार मात्रा खोप नेपालले प्राप्त गरेको । अहिलेसम्म २५ लाख ७४ हजार ७ सय १५ जना अर्थात ९ प्रतिशत जनसंख्यालाई पहिलो मात्रा र ७ लाख ५७ हजार ३ सय ८० जनाले अर्थात ३ प्रतिशतले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *