Main News

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो, सतर्कता अपनाउन सुझाव

हिमालय टिभी
२०७८ असार १८ गते ७:२८
लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो, सतर्कता अपनाउन सुझाव

१८ असार २०७८ काठमाडौं । लगातार परेको झरीका कारण देशका धेरै ठाउँमा बाढी पहिरो गएको छ भने केही क्षेत्र डुबानमा परेको छ ।

मकवानपुरको पूर्वी राप्ती नदीमा पानीको सतह बढ्दै गएकाले चितवनको सौराहा आसपास र नदी क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन भनिएको छ । दुई दिनदेखि वाग्मती, गण्डकी, लुम्बिनी, प्रदेश १ र प्रदेश २ मा झरी परिरहेको छ ।

गएराति सबैभन्दा धेरै चितवन, मकवानपुर, विराटनगरलगायत क्षेत्रमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद राजु प्रधानाङ्गका अनुसार भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।

नेपालमा मनसुन सुरु भएयता ३३ जनाको ज्यान गएको छ । नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो । गृह मन्त्रालयले हिजो बेलुका अद्यावधिक गरेको तथ्याङ्कअनुसार २१ दिनको अवधिमा बाढी पहिरोमा परेर ३३ जनाको ज्यान गएको हो ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा पाँच जनाको ज्यान गएको छ भने डोटीमा चार, रोल्पामा तीन तथा प्युठान, रौतहट, तनहुँ र चितवनमा दुई दुई जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।

यसैगरी, बाजुरा, गोरखा, पाल्पा, अर्घाखाँची, कास्की, काभ्रे, कालीकोट, सप्तरी, बझाङ, पाँचथर, रोल्पा, दाङ र सिन्धुलीमा एक एक जनाको ज्यान गएको छ ।

यो अवधिमा ३० जना बेपत्ता भएका छन् भने ३० जना नै घाइते भएका छन् । बाढी, पहिरो तथा डुबान र कटानबाट १ सय १२ घरमा पूर्णरूपमा क्षति पुगेको छ भने ४ सय ७५ घरमा आंशिक क्षति पुगेको छ ।

यस्तै, आज पनि देशका धेरै ठाउँमा लगातार झरी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *