Main News

सरकारी पक्षलाई इजलासको प्रश्न : अदालतकै कारण राजनीतिक अस्थिरता आएको हो ?

हिमालय टिभी
२०७८ असार १५ गते १५:०७
सरकारी पक्षलाई इजलासको प्रश्न : अदालतकै कारण राजनीतिक अस्थिरता आएको हो ?

१५ असार २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा बहस गर्दै सरकारी पक्षले अदालतका कारण अस्थिरता सिर्जना भएको जिकिर गरेको छ ।

नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले अदालतबाट पटक–पटक संसद् विघटन उल्टिँदा अस्थिरता सिर्जना भएको जिकिर गर्नुभएको हो । पुस ५ को प्रतिनिधिसभा विघटन अदालतको आदेशमा पुनर्स्थापना भए पनि स्थिरता नदेखिएको पाण्डेयले तर्क गर्नुभयो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाले प्रधानमन्त्रीको लिखित जवाफमा पनि अदालतका कारण अस्थिरता आएको भन्ने आशय देखिएको भन्दै अदालत मात्रै कारण हो ? कि अरु कारण छन् भनेर प्रश्न सोध्नुभयो ।

जवाफमा पाण्डेले अस्थिरताको एउटा कारण अदालत पनि भएको तर्क गर्नुभयो । भारतको उदाहरण दिँदै पाण्डेयले त्यहाँ पटक–पटक संसद विघटनपछि नै सरकार स्थिर बनेको दाबी गर्नुभयो ।

सर्वोच्च अदालतले विगतमा जे फैसला गरे पनि विघटनको विषयमा अरु प्रजातान्त्रिक मुलुकको अभ्यास पनि हेर्न उहाँको आग्रह छ ।

संसद विघटन जनताको मत के छ भनेर हेर्ने ठाउँ भएको र त्यो प्रधानमन्त्रीको अधिकार भएको उहाँले जिकिर गर्नुभयो । संसद विघटन हुँदा लोकतन्त्र कमजोर नहुने पनि उहाँले तर्क गर्नुभयो ।

नेपालमा पनि राजनीतिक स्थिरता ल्याउनका लागि गरिएको संसद् विघटन अदालतले स्वीकार गर्नुपर्ने पाण्डेयको तर्क छ ।

प्रधानमन्त्रीको कदम बचाउ गर्ने क्रममा नायब महान्यायाधिवक्ता पाण्डेयले विश्वासको मत नपाउने अवस्था भएपछि प्रधानमन्त्रीले विश्वासको मत नलिएको र त्यो ठीक भएको दावी गर्नुभयो ।

त्यसपछि प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रक्रिया छल्न पाइन्छ र रु यसको घोषणा गर्ने त संसदले होला नि भनेर प्रश्न गर्नुभयो ।

जवाफमा जवाफमा पाण्डेयले पहिले नै परीक्षण भएकोले संसदमा जानु नपर्ने तर्क गर्नुभयो । पाण्डेयले उपधारा ३ को प्रधानमन्त्रीले राजीनामा नदिइकनै उपधारा ५ मा जान पाउने तर्क दावी समेत गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *