एमाले स्थायी कमिटी बैठक बस्दै, महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी
१५ असार २०७८ काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने तयारी स्वरुप आज स्थायी कमिटी बोलाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बस्ने स्थायी कमिटी बैठकले भोलिका लागि बोलाइएको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकका एजेण्डा तय गर्ने छ ।
सर्वोच्च अदालतले आयोजक कमिटीको काम कारवाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माधवकुमार नेपाल पक्षले माग राखेको सन्दर्भमा भोलि आयोजक कमिटीको बैठक आह्वान गर्न लागिएको हो ।
भोलि बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले पर्सि बिहीबार पुरानो केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्ने बुझिएको छ । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुनेछन् ।
महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरूको बारेमा टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक आज साँझ बोलाइएको छ ।
महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपालसहित यसअघि निष्काशनमा परेका नेताहरुलाई बोलाइने छैन । तर माधव नेपाल पक्षका अन्य नेता पनि आयोजक कमिटी बैठकमा नजाने भएका छन् ।
आयोजक कमिटी भंग भएपछि पर्सि बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा भने माधव नेपाल बरिष्ठ नेताकै हैसियतमा सहभागी हुन पाउनुहुने छ । त्यस्तै अन्य पदाधिकारीहरुको पनि यथावत जिम्मेवारी हुनेछ ।
यसअघि अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर आयोजक कमिटी गठन भएको थियो । २०७५ जेठ ३ गते तत्कालिन माओवादीसँग एकता हुनुपुर्व केपी शर्मा ओली नेतृत्वको एमालेमा झलनाथ खनाल र माधवकुमार नेपाल बरिष्ठ नेता हुनुहुन्थ्यो ।
यस्तै वामदेव गौतम, भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य उपाध्यक्ष हुनुहुन्थ्यो । ईश्वर पोखरेल महासचिव, बिष्णु पौडेल र घनश्याम भुसाल उपमहासचिव हुनुहुन्थ्यो । प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई सचिव हुनुहुन्थ्यो ।
आज बस्ने स्थायी कमिटी बैठकमा भने रामबहादुर थापा बादल, मणि थापालगायतका पूर्वमाओवादी नेताहरु पनि आयोजक कमिटीको हैसियतमा सहभागि हुनुहुने छ ।
प्रतिक्रिया