Main News

संसद विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

हिमालय टिभी
२०७८ असार १३ गते ७:४९
संसद विघटनविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै

१३ असार २०७८ काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज रिट निवेदकतर्फका बाँकी कानून व्यवसायीहरुले बहस गर्दै छन् ।

रिट निवेदकतर्फका कानून व्यवसायीहरुलाई सुरुवाती बहस गर्न अब २ घण्टा ३५ मिनेटको समय बाँकी रहेको छ ।

संवैधानिक इजलासमा भइरहेको सुरुवाती बहसमा रिट निवेदकतर्फका कानून व्यवसायीको पालो सकिएपछि विपक्षी अर्थात सरकारतर्फका कानून व्यवसायीहरुले सुरुवाती बहस गर्नेछन् ।

सरकारतर्फका कानून व्यवसायीहरुले १५ घण्टाको बहस सकेपछि फेरि पनि रिट निवेदकतर्फका कानून व्यवसायीहरुले समय पाउनेछन् ।

रिट निवेदकका कानून व्यवसायीले बहस गर्ने समय शुक्रबार नै अन्त्य गर्ने भनिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले उनीहरुलाई २ घण्टा ३५ मिनेट समय बाँकी रहेको जानकारी गराएर इजलास स्थगित गर्नुभएको थियो।

शुक्रबार वरिष्ठ अधिवक्ता श्रीहरी अर्याल, अधिवक्ता डा दिनमणि पोखरेल, सुनिल पोखरेल, टीकाराम भट्टराई, वरिष्ठ अधिवक्ता मुक्ति प्रधान र गोपालकृष्ण घिमिरेले बहस गर्नु भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् र विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।ओलीकै कार्यकालमा प्रतिनिधि सभा विघटन भएको यो दोस्रो पटक हो ।

बहुमत सांसदको हस्ताक्षरसहित उपस्थित हुँदासमेत देउवा संविधानको धारा ७६ को उपधारा ५ अनुसार नियुक्त नभएपछि १४६ सांसद सर्वोच्च अदालत पुगेर प्रतिनिधि सभा पुनःस्थापना र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *