कालीगण्डकी नदी तिनाउमा मिसाउने आयोजना अघि बढ्यो (भिडियो रिपोर्टसहित)
१२ असार २०७८ काठमाडौं । कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालय बुटवलमा स्थापना भएको छ । गण्डकी र लुम्बिनी प्रदेशका जिल्ला हुँदै बग्ने कालीगण्डकीको पानी डाइभर्ट गरेर तिनाउ नदीमा मिसाउने यो महत्वकांक्षी आयोजनाबाट विजुली निकाल्ने र सिंचाइ गर्ने लक्ष्य छ ।
बहुप्रतिक्षित र महत्वाकांक्षी कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको काम अघि बढेको छ । अर्थसहित ५ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुप्रसाद पौडेलले बुटवलमा आयोजनाको कार्यालय उद्घाटन गर्नुभयो । उहाँले अब यो आयोजना सपनाको विषय नभएको बताउनुभयो ।
स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा बाँध बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको दोभानमा ल्याउने र त्यहाँबाट पनि बुटवलको बेलबाससम्म थप ७ किलोमिटर सुरुङ खनेर तिनाउमा पानी झार्ने योजना छ ।
आयोजनाबाट रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्याउने तथा १ सय २६ मेगावाट विद्युत निकाल्ने योजना छ । आगामी वर्षभित्र विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार हुने आयोजनाका अधिकारी बताउँछन ।
सरकारले कालीगण्डकी–तिनाउ बहुउद्देश्य परियोजनाको डिपिआर बनाउन यसअघि पनि बजेट छुट्याउदै आएको थियो । तर काम अघि बढन सकेको थिएन । डाईभर्सन मार्फत कालिगण्डकीको पानी तिनाउमा खसेपछि रुपन्देहीको ५३ हजार र कपिलवस्तुको ५४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाई पुग्ने दाबी गरिएको छ ।
यो आयोजनाका लागि १ खर्ब ३८ अर्ब लागत अनुमान गरिएको छ । विद्युत उत्पादनसम्म करिव ६४ अर्ब र सिंचाइ संरचना र सिंचित क्षेत्र विकासका लागि करिव ७४ अर्ब लाग्ने अनुमान छ ।
डाइभर्सन आयोजनाले लुम्बनी प्रदेशका पाल्पा, गण्डकीको स्याङ्जा र तनहुँसम्मका १० वटा स्थानीय तह प्रत्यक्ष प्रभावित हुने भन्दै विरोध हुँदै आएको छ । गण्डकी प्रदेश सरकार पनि यो आयोजना अघि बढाउन अनिच्छुक छ । यस्ता ठुला चुनौति पार गरेर आयोजना कसरी अघि बढ्छ त्यो भने हेर्न बाँकी छ ।
प्रतिक्रिया