Main News

विवादमा प्रचण्डको अभिव्यक्ति : प्रचण्डको उद्देश्य राजतन्त्र फर्काउनु नै हो त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ११ गते २१:०३
विवादमा प्रचण्डको अभिव्यक्ति : प्रचण्डको उद्देश्य राजतन्त्र फर्काउनु नै हो त ? (भिडियो रिपोर्टसहित)

११ असार २०७८ काठमाडौं । अहिलेको राष्टपतिभन्दा राजाको शान मान थियो भन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति विवादमा परेको छ । यसलाई राजतन्त्र फर्काउन खोजेको भन्ने अर्थमा व्याख्या गरिएको छ ।

स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डविरुद्ध आक्रमणमा उत्रिनुभएको छ । यसमा उहाँ निकट नेताहरुले साथ दिएका छन । र, माधवकुमार नेपालमाथि पनि त्यही आरोप लगाएका छन् ।

बिहीबार सम्पादकहरुसितको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्टपति विद्यादेवी भण्डारीको भूमिकामाथि निकै असन्तुष्टि व्यक्त गर्नुभयो । र भन्नुभयो बरु राजाको शान मान थियो राष्ट्रपतिको रहेन ।

तर प्रचण्डको यो अभिव्यक्ति विवादमा परेको छ । र, यसलाई विरोधीले गणतन्त्रमाथिको षडयन्त्र ठानेका छन् । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता कार्यकर्ता चर्को रुपमा उत्रिएका छन् । स्वयं प्रधानमन्त्री ओलीले पनि प्रचण्डको यो अभिव्यक्तिलाई त्यही भनेर बुझ्नुभएको छ । बालुवाटारमा आयोजित कार्यक्रममा व्यक्त प्रधानमन्त्रीको यो विचारले त्यही प्रष्ट गर्छ ।

प्रधानमन्त्रीले नै यसो भनेपछि उहाँका अनुयायीले बाँकी राख्ने कुरा भएन, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले यसलाई पूर्व राजा गुहारेको अर्थमा व्याख्या गर्दै सामाजिक सञ्जालमा आफ्नो विचार राख्नुभएको छ ।

ओली पक्षले यसरी आक्रमण गरेपछि विपक्षी गठबन्धनका नेता पनि प्रतिवादमा उत्रेका छन् । एमाले नेता डाक्टर विजय पौडेलले प्रचण्डको भनाइको आशय तोडमोड गरिएको भनेर ट्वीटरमार्फत प्रतिवाद गर्नुभएको छ । उहाँका अनुसार पोखरेल लगायतका एमाले नेताहरुको टिप्पणी कुर्तक हो

कुरो प्रचण्डको मात्रै छैन, शेरबहादुर देउवा, माधवकुमार नेपाल र उपेन्द्र यादवमाथि पनि मुलुकको राजनीतिलाई राजतन्त्र ल्याउन र पञ्चायततिर फर्काउन खोजेको ओली पक्षले आरोप लगाएको छ । ओली पक्षीय एमाले नेता एवं राष्टिय सभामा प्रमुख सचेतक खिमलाल भट्टराईले विपक्षी नेताहरुमाथि यसरी निशान साँध्नुभएको छ ।

पछिल्ला यी अभिव्यक्तिले सत्ता पक्ष र विपक्ष अब एक अर्कालाई गणतन्त्र विरोधी सावित गर्ने प्रयासमा लागेको पुष्टि हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *