Main News

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न विपक्षी गठबन्धन यस्तो तयारीमा

हिमालय टिभी
२०७८ असार ९ गते ७:३५
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न विपक्षी गठबन्धन यस्तो तयारीमा

९ असार २०७८ काठमाडौं । दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको रिट निवेदनमा बहस गर्न निवेदक विपक्षी गठबन्धनले सुक्ष्म तयारी गरेको छ।

१४६ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दायर गरेको रिटको बहसका लागि निवेदक पक्षले १२ घण्टा र जवाफी बहसका लागि तीन घण्टा समय पाएको छ।

प्राप्त समयलाई सदुपयोग गर्ने विषयमा हिजो विपक्षी गठबन्धन निकट कानून व्यवसायीले नेताहरुसँग बसेर सबै तयारी पूरा गरेका हुन्।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको उपेन्द्र यादव निकट कानून व्यवसायी एवं नेताहरुले संवैधानिक इजलासमा हुने बहसलाई प्रभावकारी बनाउने योजना तयार पारेको हो। बहसको शुरुवात अधिवक्ता खम्बबहादुर खातीले गर्नुहुनेछ ।

उहाँलाई हिजो सिंहदरबारमा बसेको पाँच दलीय गठबन्धनले जम्मा २० मिनेट समय दिएको छ। उहाँलाई रिट निवेदनको तथ्य मात्रै राख्न अनुमति दिइएको छ। खातीपछि अर्का अधिवक्ता गोविन्द बन्दीले बहस गर्नुहुनेछ ।

उहाँले रिट निवेदनको विषय वस्तु केन्द्रित बहसको थालनी गर्न ४० मिनेटको समय दिइएको छ। उहाँपछि पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता महादेव यादवले समय पाउनुहुनेछ । उहाँलाई जम्मा ३० मिनेट समय दिइएको छ। यादवले ओलीले संविधानको धारा ७६ को उपधारा ४ अनुसार विश्वासको मत नलिइ उपधारा ५ अनुसार सरकार गठन गर्न पाइन्छ कि पाइँदैन भन्ने विषयमा बहस केन्द्रित गर्नुहुनेछ ।

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलाई बसह गर्नका लागि गठबन्धनले एक घण्टाको समय दिएको छ । निवेदकका तर्फबाट अन्तिम बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले गर्नुहुनेछ । उहाँले सबैभन्दा बढी डेढ घण्टा समय पाउनुहुनेछ । विपक्षी गठबन्धनले मुख्य वकिलका रुपमा थापालाई नै उभ्याउने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *