ज्येष्ठ नागरिकलाई यथाशीघ्र कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा दिन आदेश
८ असार २०७८ काठमाडौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो मात्रा खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो मात्र खोप दिन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुन तेस्रो साता कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप दिन ढिला भइरहेको भन्दै आज शीघ्र खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।
विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरीमा कोभिसिल्ड खोप ८ देखि १२ सातासम्मको अन्तरमा लगाए प्रभावकारी हुने भनेको थियो । खोप उत्पादक मुलुक भारतमा भने कोभिसिल्ड खोपका लागि अन्तर १२ देखि १६ साता गर्ने निर्णय गरिएको छ ।
तर नेपालका ६५ वर्षमाथिका साढे १३ लाख बढी ज्येष्ठ नागरिकले पहिलो मात्रा खोप लगाएको १२ हप्ता नाघिसकेको छ । उनीहरुलाई भारतीय कम्पनी सेरम इन्ष्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड खोप दिइएको थियो ।
तर थप मात्रा ल्याउन नसक्दा पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप कहिले पाउने हो भन्ने अन्योल छ ।
प्रतिक्रिया