Main News

नेपालमा कोरोनाका ३ वटा भेरियन्ट : कुन-कुन भेरियन्ट कति खतरनाक ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ७ गते २०:३४
नेपालमा कोरोनाका ३ वटा भेरियन्ट : कुन-कुन भेरियन्ट कति खतरनाक ? (भिडियो रिपोर्टसहित)

७ असार २०७८ काठमाडौं । बढी संक्रामक र सबै उमेर समूहका व्यक्तिमा सर्न सक्ने कोरोनाका ३ वटा भेरियन्ट नेपालमा सक्रिय रहेको पाइएको छ । पछिल्लो पटक भारतको दिल्लीमा गरिएको परीक्षणमा नेपालमा डेल्टा, अल्फा र कप्पा भेरियन्ट पुष्टि भएको छ । यी भेरियन्ट अरु देशमा पनि सक्रिय छन् । डेल्टा, अल्फा बढी संक्रामक र सबै उमेर समूहका व्यक्तिमा सर्ने भन्दै सरकारले सावधानी अपनाउन अपील गरेको छ ।

सरकारले देशका विभिन्न ठाउँबाट संकलन गरेका कोरोना संक्रमितका ४८ वटा नमूना परीक्षणका लागि भारतको दिल्लीमा पठाएको थियो । वैशाख २६ गतेदेखि जेठ २० गतेसम्म संकलन गरिएका ती नमूना विश्व स्वास्थ्य संगठनको सहयोगमा भारतको दिल्लीमा जिनोमिक सिक्वेन्सिङ्ग गर्दा ४७ वटा नमूनामा डेल्टा भेरियन्ट र एउटा नमूनामा अल्फा भेरियन्ट पुष्टि भयो ।

डेल्टा नेपालसहित विश्वका ८० र अल्फा नेपालसहित १ सय ६४ देशमा सक्रिय छ । डेल्टा भेरियन्ट पुष्टि भएका ४७ मध्ये ९ वटा नमूनामा के फोर वान सेभेन म्युटेसन पत्ता लागेको छ । र यो म्युटेसन नेपालसहितका १० देशमा सक्रिय छ ।

डेल्टा र अल्फा बाहेक विश्वमा बेटा र गामा भेरियन्ट पनि सक्रिय छन् । बेटा भेरियन्ट १ सय १५ देशमा र गामा भेरियन्ट ६८ देशमा सक्रिय छ । तर यी दुई बेटा र गामा भेरियन्ट अहिलेसम्म नेपालमा देखिएका छैनन् । यस्तै नेपालमा यसअघि नै कप्पा भेरियन्ट पुष्टि भएको थियो ।

कप्पा भेरियन्टले स्वास्थ्यमा खासै असर नगर्ने र यो कम जोखिमको देखिएकाले विश्व स्वास्थ्य संगठनले यसलाई भेरियन्ट अफ कन्सर्न भनेको छैन । तर नेपालसहितका ८० देशमा देखिएको डेल्टा भेरियन्ट बढी संक्रामक छ । र यसले आफ्नो रुप पनि फेर्दै गइरहेको छ ।

जिनोमिक सिक्वेन्सिङ्ग गरिएका ४८ मध्ये ४७ जनामा डेल्टा भेरियन्ट पुष्टि हुनुले नेपालमा यो भेरियन्टका संक्रमित धेरै छन् भन्ने प्रमाणित हुन्छ । त्यसैले आमनागरिकले संक्रमणबाट बच्न सजग र सचेत हुनुपर्छ ।

कोरोना संक्रमण जति धेरैमा फैलिँदै गयो । भाइरसले त्यति नै रुप परिवर्तन गर्दै जान्छ । त्यसैले यसबाट तर्सने वा आत्तिने गर्नु हुँदैन । तर कोरोना संक्रमणबाट बच्नका लागि भने सजग हुनै पर्छ ।

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा निषेधाज्ञा खुकुलो पारिएको छ । तर कोरोना संक्रमणको जोखिम भने निषेधाज्ञा लागू भएको बेलाको भन्दा बढी छ । त्यसैले स्वास्थ्य मापदण्ड पालना गर्न विज्ञको सुझाव छ ।

कोरोना संक्रमणबाट जोगिने भनेकै स्वास्थ्य मापदण्डको पालनाबाट हो । आफैं सचेत भएर स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने कोरोनाको जस्तोसुकै भेरियन्ट आए पनि संक्रमणबाट जोगिन सकिन्छ ।

भिडियो हेर्नका लागि यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *