Main News

थाहा स्मृति दिवस : थाहा चिनौं, थाहा फैलायौं

हिमालय टिभी
२०७८ असार ७ गते १३:४६
थाहा स्मृति दिवस : थाहा चिनौं, थाहा फैलायौं

आजभन्दा २२ वर्ष अघि २०५६ साल असार ७ गते थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको निधन भयो । आज रुपचन्द्र जन्म जयन्ती । हुन त मृत्युपर्यन्त मात्रै कुनै पनि मानिसको योगदानलाई चर्चा गरिने र सम्झने परम्पराले रुपचन्द्रलाई किन पर राख्थ्यो र ! ६५ वर्ष ५ महिना ११ दिन पूरा गरेको दिन रुपचन्द्र बिष्टले संसारबाट बिदा लिए । पहिले पहिले रुपचन्द्र स्मृति दिवसमा काठमाडौंमा पनि कार्यक्रमहरु हुन्थे । अहिले थाहा नगरपालिकाको विकास घर अगाडि कार्यक्रम भइरहेको छ ।

जीवन छँदा रुपचन्द्र विष्टलाई वास्तविक रुपमा अनुयायीहरुले चिनेनन् । त्यही भएर नै होला, रुपचन्द्रलाई शत्रुले चिने, मित्रुले चिनेनन् भन्ने गरिन्छ । मृत्युपछि रुपचन्द्रको अभाव पूरा गर्न सक्ने कोही भेटिएनन, अनि विस्तारै बिष्टको अभाव खड्किंदै गयो । आँखा अगाडि रहँदा कसैको पनि मन नजाँदो रहेछ । आँखा अगाडि नहुनु र संसारमै नरहनु फरक हो ।

संसारमै नभएको चीजको आवश्यकता कसरी पूरा हुनु ? संसार मै नभए पनि उनका प्रतिविम्बले धेरैलाई चिमोट्दो रहेछ । मनभित्र गहिरो तुष रहँदो रहेछ । अहिले त्यस्तै भएको छ थाहा नगरका रुपचन्द्र बिष्टका अनुयायीहरुलाई । हुन त अनुयायी भनाइनु र अनुयायी नै हुनुमा त आकाश जमिनको फरक छ ।

नजिकैबाट रुपचन्द्र बिष्टको संगत नगरे पनि संगत गर्नेहरुबाट सुनेका आधारमै पनि सम्झनै पर्ने, अजम्बरी नाम हो रुपचन्द्र । रुपचन्द्रलाई सम्झने आ-आफ्नै तौर तरिका छन् । कसैले मनले सम्झन्छ बाहिर अभिव्यक्त गर्दैनन, कत्तिले चाहिँ मुखले रामराम बगलीमा छुरा व्यवहार गर्दछन् । सोच्ने र व्यवहार गर्ने मानव अन्तस्करणबाट आउनु पर्दछ ।

तर शिक्षा, अनुभव र अभ्यासले जीवलाई उच्च बनाउँछ । अबको समय आफू अनुकूल वातावरण बनाउनु हो । न कि वातावरण अनुकूल आफू ।

मानिसलाई सबै स्रोत र साधनको थाहा हुनु जरुरी हुन्छ । त्यस्तै सामाजिक प्राणी भएको नाताले समाजका सबै सङ्गति र विसङ्गतिहरुबारे मानिसलाई थाहा हुनु पर्छ, पर्छ । थाहा लिने प्रक्रियाले मान्छेमा वस्तुनिष्ठ चिन्तनको प्रक्रिया शुरु हुन्छ । जति मान्छे चिन्तनमा रमाउँछ, उसमा त्यतिनै वस्तुनिष्ठ ज्ञान बढ्दछ । अर्थात् वस्तुस्थिस्तिको बारेमा ‘थाहा’ हुन थाल्दछ । ज्ञानको कुनै सीमा छैन । पूर्ववत् ज्ञान र नयाँ वैषयिक अवलोकनलाई प्रतिवादसँग मथेर मान्छेले नयाँनयाँ ज्ञान हासिल गर्दछन् । नयाँ ‘थाहा’ हरु बटुल्दछन् ।

कबिताराम श्रेष्ठले रुपचन्द्रको अभियानका बारेमा एउटा लेखमा भनेका छन् -‘द्वन्द्वको स्थितिमा आउन प्रतिद्वन्द्वीलाई यथास्थितिको ज्ञान हुनु आवश्यक छ र त्यसमा प्रवृत्त हुनुपर्छ । त्यस्तै प्रतिद्वन्द्वीको “प्रतिवाद”लाई बुझ्न यथास्थितिबादीलाई पनि आफ्ना प्रतिद्वन्द्वीको स्थिति र प्रतिवादको गहनताको ज्ञान हुनुपर्दछ । अर्थात् दुवै स्थितिमा ज्ञानको आवश्यकता हुन्छ । त्यो ज्ञानलाई नै बिष्टले “थाहा” भनिरहेका थिए । “वाद” र “प्रतिवाद” बीचको द्वन्द्वबाट थाहायुक्त “सम्वाद” को उत्पत्ति हुन्छ । थाहायुक्त सम्वादले सञ्चारको स्थिति कायम गर्छ । सबै थाहायुक्त सम्वादले परिष्कारको बाटो खोल्दछ । अर्थात् विकासको बाटो बनाउँदछ ।

‘थाहा’ पाउनका लागि रुपचन्द्रले शिक्षाको कुरा गरे, अभियान चलाए । आफैंले विद्यालय बनाए, आफैंले पढाए । महिला, गरिब, दलित बिष्टको प्राथमिकतामा परे । दिउँसो पढ्न नपाउनेहरुले बिहान, बिहान पढ्न नपाउनेहरुले साँझ, साँझ पढ्न नपाउनेहरुले बेलुका भने पनि पढ्नैपर्ने नै भयो ।

महिला, बालबालिकालाई विद्यालयमा ल्याउनका लागि अनेकौं उपायहरु पनि अपनाए । श्रमको मूल्य बुझाउन आफैंले श्रम गरें । आफ्ना लागि आफैं स्रोत जुटाउने काम गरे । साविकको दामन पालुङमा शुरु गरेको स्रोतको व्यवस्थापन गर्ने तरिका अहिले पनि कायम छ । विकासमा सहकार्य, समन्वयको नमूना अहिले पनि चलिरहेकै छ ।

‘थाहा’का बारेमा अहिले पनि कुराकानी हुन्छ, थाहा अभियान ‘बचाउने’ हैन ‘भजाउने’ कुरा हुन्छ । थाहालाई कसरी राम्रो ब्राण्डिङ गरेर बेच्ने भन्ने मात्रै ध्याउन्न देखिन्छ । थाहालाई पेवा बनाउन खोजिँदैछ, साझा बनाउनेबारे कसले सोचोस, कसको फुर्सद ? अब यी कुराको अन्त्य होस, असल कुराहरुको पुस्तान्तरण होस ।

राम्रो कुराको पुस्तान्तरण हुने परिपाटी यही पुस्ताले निर्माण गर्ने हो । अहिले पनि त्रिभुवन राजपथ भएर हिँड्नेहरुले ढुंगामा खोपेर ठूलो अक्षरले ‘थाहा’ लेखेको देख्छन । अब त्यो प्रविधिको जमाना बाँकी छैन, ज्ञानको पुस्तान्तरण गर्ने भनेको प्रविधिमैत्री भएर हो, त्यसका लागि शुरुवात आफैंबाट गर्यौंन । ढुंगामा देखेको थाहा मष्तिष्कमा लेखौं ।
रुपचन्द्र विष्टलाई नजिकबाट चिनौं

जन्म
रूपचन्द्र बिष्ट मकवानपुरलाई आफ्नो कार्यक्षेत्र बनाएर चेतना फैलाउने शिक्षावादी, जनवादी नेता थिए । रुप्चन, रुदाने, स्वरूपे आदि नामबाट पनि चिनिने उनको जन्म बाबु पदमबहादुर बिष्ट र आमा चित्रकुमारीबाट वि.सं. १९९० पुस २६ मा भएको हो । उनी एक सम्भ्रान्त परिवारका थिए ।

शिक्षा दिक्षा
बिष्टले पारिवारिक विचारभन्दा फरक कम्युनिस्ट राजनीति स्कूले जीवनबाटै शुरु गरे । २००७ देखि २०१० सम्म कम्युनिस्ट विद्यार्थी राजनीतिमा सक्रिय रहे । २०१० देखि २०१७ सालसम्म किसान र मजदुरहरूको पार्टीमा क्रियाशील रहे ।

त्यसैगरी २०१७ देखि २०२६ सालसम्म बिष्टको सक्रियता विद्यार्थी र किसान क्षेत्रमा रह्यो । १७ सालपछि २२ र २९ सालमा मकवानपुरको पालुङ गाउँ पञ्चायतका प्रधानपञ्च रहे र पछि २०२८ सालमा स्नातक कोटामा राष्ट्रिय पञ्चायत सदस्य भए ।

बिष्टले बीए र बीएलसम्म औपचारिक अध्ययन गरे र पछि सरकारको असहयोग रहेकोले भारतमा स्वनिर्वासित भएर पूर्वीय दर्शनको अध्ययन गरे ।

जेलजीवन र गिरफ्तारी
बिष्टको विचार जनवादी भएकाले राष्ट्रिय पञ्चायत सदस्य रहँदा समेत उनलाई गिरफ्तार गरियो । पटक पटक गिरफ्तार भए पनि जनमुखी राजनीतिमा पूर्ण प्रतिवद्ध रहे । साधारण जीवन रुचाउने उनले विवाह गर्दा समेत पाहुनालाई चिया मात्र खुवाए । दुई सन्तान भएका उनको पछि सम्बन्ध बिच्छेद भयो ।

धेरै पटक राजद्रोह लगायत अन्य आरोपमा पक्राउ परेका बिष्टलाई तत्कालिन पञ्चायती सरकारले धेरै पटक जेल हालेको थियो । जेलबाट फर्केपछि मकवानपुरको दामनमा प्राकृतिक विज्ञानको ८ वर्ष स्वअध्ययन गरे । उनी स्थानीय विद्यालयमा प्रधानाध्यापक भए । विहान वेलुका प्रौढ शिक्षा समेत चलाए ।

२०३८ र २०४३ सालमा मकवानपुरबाट तत्कालीन राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका बिष्ट फोटो होइन, विचार राखेर निर्वाचन लड्थे । बिष्ट मुलुकमा रहेको मण्डलेतन्त्रको मात्र होइन, घर, टोल, गाउँ र दलभित्र रहेको मण्डलेतन्त्रको पनि प्रखर विरोधी थिए । केही समय बिष्टसँग जेलमा बसेका वर्तमान प्रधानमन्त्री केपी ओली यसरी सम्झन्छन् विष्टलाई- “उनी महान् मान्छे थिए, जीवनको विशेषता जनशैली, राजनीतिको विशेषता जनमुखी । यी रूपचन्द्रका विशेषता हुन् ।”

थाहा आन्दोलनको सुरुवात
वि.सं. २०२९/३० सालतिर रूपचन्द्र बिष्टले थाहा आन्दोलन सुरू गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए ।

‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबैभन्दा महत्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो ।

उनी भन्थे, “थाहा पा भाते, जान् भाते, बुझ् भाते” थाहा आन्दोलनको मूल लक्ष्य भनेको चेतनाहीन जनतालाई चेतना सम्पन्न नागरिकमा रूपान्तण गरी राजनीतिक र सामाजिक जागरण गर्नु हो ।’

थाहा एक दर्शन हो
रूपचन्द्र बिष्ट त्यस्ता नेपाली थिए, जो राजनीति गरेर राजनीतिज्ञ कहलिएनन् । श्रम गरेर पनि श्रमिक भनिएनन्, साहित्य लेखेर साहित्यकारमा दरिएनन् । मौलिक दर्शन स्थापित गरेर पनि दार्शनिक भनिएनन् ।

एक सनकी मान्छेका रुपमा तत्कालिन शासकले उनलाई चित्रण गर्योक । थाहा अभियानका त्यतिवेलाका एक अभियन्ता मदन राई थाहा अभियानलाई नेपाली माटोमा जन्मिएको दर्शन भन्छन् ।

शिक्षामा योगदान
आफ्नै र जनताको जनश्रमदानद्वारा पालुङको जनकल्याण मावि बनाए । “केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी, व्यवस्था बिग्रे अगुवा दोषी, अतियथार्थमुखी, कर्तव्यमुखीवाहेक, पछुवा, भगुवा सारा दोषी, जात ठूलो कि जनता रु नाता ठूलो कि न्याय ‘स्वार्थ ठूलो कि निस्वार्थ ’ उनको यो भनाई २०३९ सालको स्थानीय चुनावको पर्चामा समेत लेखिएको थियो ।

पञ्चायतीलाई चितुवाको संज्ञा
उनी भन्ने गर्थे “पैसाबाट सत्यता, पदबाट इन्साफ, शोषकबाट विकास, विदेशीबाट राष्ट्रियता, रन्डीबाट इमान, गुण्डाबाट राजनीति, शासकबाट प्रजातन्त्र, पाइन्छ भन्नेले लगाउँछन् चितुवालाई बाख्राको गोठालो ।
उनले पञ्चायती व्यवस्थालाई त्यही वेला चितुवाको संज्ञा दिन्थे । उनले खराव मन भएकाहरूबाट असल काम होला भनी सोच्नु दिवास्वप्न भएको उल्लेख गरेका छन् ।

आन्दोलनको मुख्य उद्देश्य
उनले तिन दशक थाहा आन्दोलन चलाए । यस आन्दोलनको मुख्य सार थियो, ‘निष्पक्ष सक्रियताको अभ्यास । अर्को शब्दमा, चेतनाहीन जनताको चेतनासम्पन्न नागरिकमा रूपान्तरणमार्फत राजनैतिक र सामाजिक जागरण ल्याउनु ।

बिष्टले चुनावको पर्चा बेचेर खर्च जुटाउँथे
रूपचन्द्र बिष्टले २०३८ र ०४३ सालमा मकवानपुर जिल्लाबाट राष्ट्रिय पञ्चायतमा प्रतिनिधित्व गरेका थिए । उनी पर्चापम्पेलेटहरूमा तस्विर हैन विचार लेख्थे । तिनै पर्चाहरू बेचेर चुनाव खर्च जुटाउँथे । उनले कहिल्यै पनि रूपचन्द्र विष्ट हेरेर भोट देऊ भनेनन् । मात्र विचार बाँडे ।

उनका विचारसँग सहमत हुनसक्नेलाई पनि स्वविवेकले चल्न भन्थे । तर सबैले सबैका विचार, भावना, सिद्धान्त र क्रियाकलापहरूको साक्षी हुन सक्नुपर्छ भन्ने उनको भनाइ थियो ।

राष्ट्रिय पञ्चायतको सदस्य भएर पनि पञ्चायतकै विरोधमा विचार व्यक्त गरेर आफ्नो बौद्धिक वर्चस्व राख्न सक्ने महान् योद्धा थिए । उनले पञ्चायत कालमै संविधानसभाको आवश्यकता देखेर जोडदार आवाज उठाएका थिए ।

आफ्नो लागि आफैं लड्नुपर्छ
उनी हमेसा भन्ने गर्थे, “श्रमिकको राजनीति पूँजिपतिले गरेर हुँदैन, छाप्राको राजनीति महलले गरेर हुँदैन, महिलाको राजनीति पुरुषले गरेर हुँदैन, आफ्नो लागि आफैँ जागेर अघि बढ्नुपर्छ । दुःख पाउनेले नै दुःखको रंग चिनेको हुन्छ । श्रम गर्नेले नै श्रमिकको व्यथा जानेको हुन्छ ।

अतः जसको उत्थान हुनुपर्छ, ऊ स्वयम्ले अगुवाई गर्नुपर्छ । श्रम गर्नुपर्छ, ठाउँमा पग्लनुपर्छ, ठाउँठाउँमा कठोर बन्नुपर्छ । जानेर बुझेर अघि बढ्ने हिम्मत गर्नुपर्छ । होस सहितको जोसले काम गर्नुपर्छ ।”

उनको यो भनाई आज पनि गुञ्जीरहेको छ । “हामी कसैका होइनौँ, कोही हाम्रा होइनन् । मात्र हामी सत्य र न्यायका र सत्य र न्याय हाम्रा लागि हुन् ।”

बिष्ट एक अराजक मान्छे
सामान्यरूपले हेर्दा रूपचन्द्रका केही क्रियाकलाप अराजकजस्ता लाग्दछन् । यसका केही नमूना हेरौँ‘ उनी पञ्चायती व्यवस्थाविरोधी एजेण्डा बोकेर चुनाव जित्थे । चुनावी पर्चा सित्तैमा नदिएर बिक्री गर्थे । जनतालाई तिमीहरू भाते कुकुर हौ भनेर भोट माग्थे ।

‘भाते कुकुर’ शब्द सम्माननीय शब्दका रूपमा उनले प्रयोग गरेका हुन् । ‘भाते कुकुर’ शब्दको अभिधा अर्थ खराब भए पनि यी शब्दले पुकारिने मानिस असल हुने गर्थे । कुकाम गर्नेहरूले कहिल्यै यस खाले सम्बोधन पाएनन् । भ्रष्टचारीलाई उनी खुलेरै भ्रष्टचारी भन्थे, गद्दारलाई गद्दार नै भन्थे । छोराछोरीलाई नपढाउनेलाई श्रमसजायको दायरामा ल्याउँथे ।

उनले राष्ट्रिय पञ्चायतदेखि आमसभा र सर्वसाधरण एवं शासकहरूसँग एकै किसिमको भाषा बोले । चाहे सर्वसाधारण हुन् या शासक प्रशासकहरू नै किन नहून् सबैलाई तँ भन्थे, तिमी विरलैलाई भन्थे । तपाईँ भन्ने खालका मानिसहरू उनको नजरमा विल्कुलै कम थिए ।

मृत्यु
रूपचन्द्र बिष्टले जीवनको उत्तरार्धमा पनि अभियानलाई निरन्तरता दिइरहे । आफू झुप्रेझाम्रे भएकोले सोही बमोजिमको सामान्य ठाउँमा उपचार गर्न र मरेपछि विल्कुलै सामान्य वर्गको झैँ अन्तेष्टी गर्न अर्हा एका थिए ।

सहयोगीलाई आफ्नो शवमा अविर, माला नलगाउन, काजक्रिया नगर्न र लासको राजनीति नगर्न समेत भनेका थिए । नेपाली माटोले चिन्न नसकेको तीनै महान व्यक्तिको मृत्यु २०५६ साल असार ७ गते भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *