कोरोना संक्रमणबाट थप ३४ जनाको मृत्यु, २४०१ संक्रमित थपिए
५ असार २०७८ काठमाडौं । कोरोना संक्रमणबाट नेपालमा थप ३४ जनाको मृत्यु भएको छ । पछिल्लो पटक २४ सय १ संक्रमित थपिएका छन् ।
देशका अधिकांश स्थानमा लगाइएको निषेधाज्ञाका कारण संक्रमण घट्दै गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १० पीसीआर परीक्षणमा १६ सय ८८ र ४६ सय ८६ एन्टिजेन परीक्षणमा ७ सय १३ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा पनि संक्रमण घटेको छ । उपत्यकाका तीन जिल्ला ३ सय ३७ जना मात्रै नयाँ संक्रमित भेटिएका छन् । ति मध्ये काठमाडौंमा २ सय १, ललितपुरमा ९२ र भक्तपुरमा ४४ जना छन् ।
आज सबैभन्दा बढी बाग्लुङमा २ सय २५ जना नयाँ संक्रमित भेटिएका छन् । बागलुङमा तीन दिनयता २ सय भन्दा बढी संक्रमित भेटिइरहेका छन् । प्रदेश १ का जिल्लामा पनि संक्रमण अझै उच्च छ ।
मोरङमा १ सय ३०, सुनसरीमा १ सय १० र झापामा १ सय ४ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक ३ हजार ६ सय ६० जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या ५७ हजार ६ सय १८ मा झरेको छ । ति मध्ये ८ सय ७४ जनाको आइसीयु र २ सय ५८ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया