Main News

कोरोनाको तेस्रो लहरको सामना गर्न सुदूरपश्चिममा यस्तो छ पूर्वतयारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार ५ गते १६:४८
कोरोनाको तेस्रो लहरको सामना गर्न सुदूरपश्चिममा यस्तो छ पूर्वतयारी (भिडियो रिपोर्टसहित)

५ असार २०७८ धनगढी । कोरोना महामारीको तेश्रो लहर भित्रिने सम्भावना रहेको भन्दै विभिन्न मुलुकले अहिले देखि नै तयारी थालेका छन् । नेपालमा पनि सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहले पनि सजगता अपनाउँदै पूर्व तयारी शुरु गरेका छन् ।

विशेषगरी भारतबाट फर्कने नागरिकबाटै कोरोनाको संक्रमण फैलिएको भन्दै प्रदेश सरकार र स्थानीय सरकार नाका ब्यवस्थापनमा जुटेका छन् । सुदूरपश्चिमको मुख्य नाका त्रिनगर नाकाबाट सबैभन्दा बढी नागरिक स्वदेश फर्किने गरेका छन् ।

यसै नाकालाई व्यवस्थित गर्न सके कोरोनाको संक्रमण रोक्न सकिने भन्दै यसको व्यवस्थापन गर्न लागिएको हो । त्रिनगर नाकामा राखिएका हेल्थ डेस्क, होल्डिङ सेन्टर अव्यवस्थित हुँदा स्वदेश आउने नागरिकलाई समस्या भएको भन्दै प्रदेश सरकारले स्थानीय तहसँग आवश्यक सहकार्य गरी व्यवस्थित बनाउने जनाएको छ ।

एन्टिजेन किट अभावकै कारण त्रिनगर नाकाबाट स्वदेश फर्किने सबै नागरिकको परीक्षणसमेत गर्न नसक्दा उनीहरलाई बिना परीक्षण घर पठाइने गरेको थियो । अब भने भारतबाट स्वदेश फर्किने सबै नागरिकको एन्टिजेन परीक्षण गरेर घर पठाउने तयारी थालिएको छ । प्रदेश सरकारले हेल्थ डेस्क व्यवस्थापनसंगै आवश्यक सबै उपकरणको समेत व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रदेशको एक्लो उपमहानगरपालिका धनगढी त्रिनगर नाकासँग जोडिएको स्थानीय तह हो । प्रदेश सरकारसंगको सहकार्यमा होल्डिङ सेन्टर तथा व्यवस्थित नाका बनाउनका लागि उपमहानगरपालिका लागि परेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद विस्तारपछि आन्तरिक मामिला र सामाजिक विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएका छन् । नयाँ मन्त्रीहरुले कोरोना भाइरश रोकथामका लागि नाका व्यवस्थापनमा जोड दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *