गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
४ असार २०७८ गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदैहुनुहुन्छ ।
विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन लागेको गण्डकी सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिनुभयो ।
संविधानमा मुख्यमन्त्रीले शपथ लिएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री पोखरेलले नियुक्त भएको एक सातामै विश्वासको मत लिन लाग्नु भएको हो ।
विश्वासको मत लिनु दुई दिन अघि प्रदेशसभामा जानकारी गराउनुपर्ने व्यवस्था छ। सोही अनुसार पोखरेलले बुधबार नै प्रदेशसभा सचिवालयमा जानकारी गराइसक्नु भएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १ सय ६८ को ५ बमोजिम जेठ २९ मा पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नु भएको थियो ।
मुख्यमन्त्री नेपालीलाई उहाँको दल नेपाली कांग्रेससहित, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एकजना स्वतन्त्रसहित ३१ जना सांसदले समर्थन गरेका छन्।
उहाँले विश्वासको मत पाउन नसके संवैधानिक व्यवस्था अनुसार प्रदेशसभा भंग गरी ६ महिनाभित्र चुनाव गराउनु पर्नेहुन्छ ।
गण्डकी प्रदेशसभामा हाल ५९ सांसद छन्। विश्वासको मत पाएपछि मन्त्री परिषद् विस्तार गर्ने मुख्यमन्त्रि नेपालीको तयारी छ । हाल गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रि सहित ४ मन्त्री सहभागि छन् ।
प्रतिक्रिया