उपचारका लागि दिल्ली जाँदैगर्दा पार्टी एकता जोगाउन वरिष्ठ नेता खनालले गरे यस्तो अपिल

२ असार २०७८ काठमाडौं । नेपाल एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गर्नुभएको छ ।
उपचारका लागि दिल्ली जानु अघि विज्ञप्ति निकालेर खनालले देशको बिथोलिएको राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी एकतावद्ध बनाउन सबै नेता कार्यकर्तालाई विशेष आह्वान गर्नुभएको हो ।
खनालले एकता सफलता र फुट विनासको बाटो भएको तर्फ सबै नेता कार्यकर्ताको गम्भीर ध्यानाकर्षण गर्नुभएको छ । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न खनालको सबैलाई आह्वान छ ।
पार्टीलाई फुटतर्फ नधकेल्न, धैर्य र संयमका साथ प्रयास गर्न खनालले आग्रह गर्नुभएको छ । देशको राजनीति विथोलिएको र त्यसले आफूलाई चिन्तित बनाएको भन्दै खनालले अन्तर संघर्षको पराकम्प तत्कालिन नेकपा हुँदै अहिले एमालेमा परेको उल्लेख गर्नुभएको छ ।
अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने कार्य यथाशीघ्र अन्त्य गर्नुपर्नेमा पनि खनालले जोड दिनुभएको छ । जनताको चाहना र अपेक्षाविपरीत पार्टी अघि बढिरहेको भन्दै खनालले सच्चिनुपर्ने बताउनुभएको छ ।
एकपछि अर्को स्वास्थ्य समस्याका कारण डाक्टरहरुको सल्लाहमा आफू केही दिनका लागि देश बाहिर जान लागेको पनि खनालले जानकारी दिनुभएको छ ।
खनालले यसअघि आजै आफूलाई भेट्न अस्पताल पुगेका एमाले महासचिव ईश्वर पोखरेललाई पार्टी एकता जोगाउन आग्रह गर्नुभएको थियो ।
प्रतिक्रिया