Main News

हेलिकोप्टरबाट देखिएको दृष्यमा सात बढीको ज्यान लिने मेलम्ची बाढी (फोटो फिचरसहित)

हिमालय टिभी
२०७८ असार २ गते १३:५६
हेलिकोप्टरबाट देखिएको दृष्यमा सात बढीको ज्यान लिने मेलम्ची बाढी (फोटो फिचरसहित)

२ असार २०७८ काठमाडौं । मनसुनको सुरुवातमै भएको अविरल वर्षाले देशका विभिन्न भागमा विनाश निम्त्याएको छ । सिन्धुपाल्चोकमा हिजो साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ ।

प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले प्रहरी र जनप्रतिनिधिले सात जनाको मृत्यु भएको पुष्टि गरेको जानकारी दिनुभयो । मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले ठूलो क्षति भएको छ । हेलम्बुमा तीन र मेलम्चीमा एउटा गरी चारवटा पुल बगाएको छ । सडक पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

हिंडेर जान सक्ने स्थिति नभएकाले नेपाली सेनाको हेलिकोप्टर र अन्य निजी हेलिकप्टरलाई परिचालन गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभयो । मेलम्चीमा पानीको बहाव नघटेकाले उद्दारमा समस्या भएको छ । पानी वस्तीतिर पसेमा थप क्षति हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सिन्धुपाल्चोकका निवर्तमान सांसद एवम् स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले पचासौं जना बेपत्ता भएको बताउनुभएको छ। मेलम्चीमै रहेका स्वास्थ्यमन्त्रीका स्वकीय सचिव निर्मल बन्जाराले मेलम्ची आयोजनाको ड्याम स्थलमा रहेका केही व्यक्ति सम्पर्कमा नरहेको र हेलम्बुदेखि मेलम्ची बजारसम्मका कम्तीमा १३ जना हराईरहेको जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अन्तर्गत खोला छेउ घर भएकालाई बगाएको र उनीहरुको विस्तृत विवरण आइनसकेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको मुहानस्थल अम्बाथानबाटै नदीमा बेलुकी करिब ६ बजेदेखि बहाब बढेको थियो ।

मेलम्ची आयोजनामा काम गर्ने चिनियाँ क्याम्प ध्वस्त बनाएर उर्लिएको बाढीले वरपरका संरचना बगाउन थालेपछि हेलम्बुदेखि मेलम्ची भेगका बजार गाउँ क्षेत्रमा भागभाग मच्चिएको थियो ।

बाढीले ३ वटा पुल बगाएको र धेरै ठाउँमा बाटो कटान गरेको शेर्पाले जानकारी दिनुभयो । हेलम्बु गाउँपालिका अन्तर्गत तल्लो तिम्बु बजार र नदी छेउका केही घर बगाएको जानकारी आएको अध्यक्ष शेर्पाको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार जिल्लाको बलेफी खोलामा बाढीले खतराको तह नाघेको छ। बाह्रबीसेको भोटेकोसी नदी क्षेत्रमा पनि पानीले खतराको तह नाघेको छ । दुवै क्षेत्रमा आज बिहानसम्म सतर्कता अपनाउन भनिएको छ ।

यस्तै मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची–इन्द्रावती नदी किनारमा रहेको मेलम्ची बजारमा बाढीले सामान्य क्षति पुर्याएको मेलम्ची प्रहरी कार्यालयले जनाएको छ ।

मेलम्ची बजारका जोखिमयुक्त ठाउँका बासिन्दालाई सुरक्षित ठाउँमा सारिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले विपत्तिबाट प्रभावित नागरिकको तत्काल उद्धार एवं राहतमा जुट्न सबैमा अपिल गर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *