आज पनि देशका अधिकांश स्थानमा वर्षा हुने, उच्च सतर्कता अपनाउन सुझाव
२ असार २०७८ काठमाडौं । मनसुन सक्रिय भएसँगै आज पनि देशका पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा हल्कादेखि भारीसम्मको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
केही दिनयता देशभर लगातार वर्षाका कारण बाढी तथा पहिरो आउने क्रम शुरु भइसकेको छ । सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा बाढी पहिरोले विध्वंस मच्चाइरहेको छ।
आज बिहान पनि गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ।
यस्तै आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म र कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ।
महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ भने कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
महाशाखाले सतर्कतका लागि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। महाशाखाले ती प्रदेशको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जनाएको छ ।
साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।
प्रतिक्रिया