जसपाबारे निर्णय गर्दा निर्वाचन आयोगको ढंग पुगेन: पूर्व कार्यवाहक आयुक्त गुरुङ (भिडियो रिपोर्टसहित)
१ असार २०७८ काठमाडौं । पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले जनता समाजवादी पार्टीका विषयमा निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयले प्रश्न उठाउने ठाउँ दिएको बताउनुभएको छ ।
हिमालय टेलिभिजनसँग कुरा गर्दै गुरुङले माग दावी अनुसारको कागजात विवरण बुझाउने पक्ष असन्तुष्ट र नबुझाउने पक्ष स्वागतमा उभिनु अस्वाभाविक भएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका विषयमा गरेका निर्णय एकातिर र माग दावी अर्कोतिर भएको जस्तो देखिएकोले आयोगले ढंग नपुर्याएको देखिएको गुरुङले टिप्पणी गर्नुभयो ।
अहिले निर्वाचन आयोगको निष्पक्षता र तटस्थतामा प्रश्न उठिरहेको भन्दै उहाँले त्यस्तो अवस्था हटाउने गरी काम गर्न पनि निर्वाचन आयोगलाई सुझाव दिनुभयो । आयोग अहिले सत्तापक्षको जस्तो देखिएको टिप्पणी भैरहेको भन्दै पूर्व कार्यवाहक प्रमुख निर्वाचन आयुक्त गुरुङले चिन्ता व्यक्त गर्नुभयो ।
जसपा अध्यक्ष उपेन्द्र यादव सहितको कार्यकारिणी समितिको बहुमतले जेठ १७ गते महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरेको थियो ।
यस्तै महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाइ कारवाही गरेको थियो । दुवै पक्षले त्यो विवरण अद्यावधिक गर्न आयोगमा पठाएका थिए ।
आयोगले रित पुरयाएर फेरि विवरण पठाउन भनेको थियो । त्यसमा यादव पक्षले बुझाएको थियो भने ठाकुर पक्षले बुझाएको थिएन । तर आयोगले दुवैका निर्णय अमान्य घोषित गरेको थियो ।
प्रतिक्रिया