Main News

कोरोनाबाट जेठ महिनामा सबैभन्दा बढी मानवीय क्षति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असार १ गते १९:११
कोरोनाबाट जेठ महिनामा सबैभन्दा बढी मानवीय क्षति (भिडियो रिपोर्टसहित)

१ असार २०७८ काठमाडौं । कोरोना महामारी सुरु भए यता गत जेठ महिनामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो महिना एक लाख ७० हजार आठ सय ६३ मा कोरोना संक्रमण हुँदा तीन हजार सात सय ९० ले ज्यान गुमाएका छन् । जेठ एक गतेदेखि ३१ गतेको तथ्यांकमा आठ हजार चार सय ६५ को मृत्यु भएको छ ।

त्यसमा पनि ५ जेठमा सर्वाधिक दुई सय ४६ जनाले ज्यान गुमाएका थिए । जेठ महिनामा मात्रै कोभिड– १९ बाट ज्यान गुमाउनेको संख्या कुल मृत्युको करिब ४५ प्रतिशत हो ।

जेठको अन्तिम दिनको तथ्यांकअनुसार हालसम्म ६ लाख १० हजार पाँच सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये करिब ३३ प्रतिशत काठमाडौं जिल्लामात्रै संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा मात्रै एक लाख ९९ हजार दुई सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ । वैशाखको अन्तिम साताबाट तीव्र गतिमा बढ्दै गएर जेठको पहिलो साता नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो । त्यस समय संक्रमणदर ४६ प्रतिशतसम्म पुगेको थियो ।

हाल संक्रमणदर घट्दै गई २० प्रतिशतको हाराहारीमा झरेको छ । सोमबारको तथ्यांकअनुसार १४ हजार आठ सय १९ को परीक्षण गरिएकोमा दुई हजार नौ सय १८ मा संक्रमण पुष्टि भएको छ, जुन १९ दशमलव ६९ प्रतिशत हो ।

वैशाख महिनामा एक लाख ५८ हजार ६ सय ७४ कोरोना संक्रमण हुँदा एक हजार ६ सय ११ को मृत्यु भएको थियो ।

सरकारले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा संक्रमणदर घट्न थालेपछि आजदेखि केही खुकुलो बनाउने निर्णय गरेको छ । तर, संक्रमण घटे पनि संक्रमणदर अझै २० प्रतिशत भएकाले त्यो जोखिमपूर्ण नै हुने चिकित्सकहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *