राजनीति

जसपा अध्यक्ष यादवद्वारा निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर आशंका व्यक्त

हिमालय टिभी
२०७८ असार १ गते १४:५४
जसपा अध्यक्ष यादवद्वारा निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर आशंका व्यक्त

१ असार २०७८ काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले निर्वाचन आयोगको निष्पक्षतामाथि गम्भीर आशंका व्यक्त गर्दै संघर्षको घोषणा गरेको छ ।

यादव समूहले संवैधानिक अंग निर्वाचन आयोगले लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धति तिरस्कार गरेको भन्दै राजनीतिक र कानूनी लडाइँ लड्ने घोषणा गरेको हो ।

अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति निकालेर आयोगमाथि गम्भीर आरोप लगाउनुभएको छ । जसपा बहुमतको निर्णय अनुसार आयोगले दलसम्बन्धी विवरण अद्यावधिक नगरेकोमा अध्यक्ष यादवले आयोगको भूमिकामाथि प्रश्न उठाउनुभएको छ ।

निर्वाचन आयोगबाट निष्पक्ष, तटस्थ भूमिका निर्वाह हुन नसकेको र पूर्वाग्रहपूर्ण भन्दै एकपक्षीय हित हुने निर्णय नमान्ने पनि अध्यक्ष यादवले प्रष्ट पार्नुभएको छ ।

यादवका अनुसार आयोगले राजनीतिक दलको बहुमतको निर्णय मान्य हुने लोकतान्त्रिक मूल्य, मान्यता, विधि र पद्धतिको सम्पूर्ण रुपले अवज्ञा, उपेक्षा र तिरस्कार गरेको छ ।

यादव सहितको कार्यकारिणी समितिको बहुमतले जेठ १७ गते महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्काशन गरेको थियो । र, त्यो विवरण अद्यावधिक गर्न आयोगमा पठाएको थियो । तर आयोगले अस्वीकार गरेपछि यादव समूह आक्रोशित भएको छ ।

जसपाको विवादमा बहुमतले गरेको निर्णय अस्वीकार गरेर निर्वाचन आयोग आफ्नो जिम्मेवारीबाट पन्छिएको यादवको टिप्पणी छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन नियमावली र जसपाको अन्तरिम विधान २०७७ लाई आफ्नो सुविधा अनुरुप बङ्ग्याई अपव्याख्या गरेर महन्थ ठाकुर पक्षलाई वैधानिकता दिन खोजिएको यादवले आरोप लगाउनुभएको छ ।

विधान विपरीत काम गर्ने, दलको आचार संहिता नमान्नेलाई वैधानिकता दिन खोज्ने आयोगको काम विधिसम्मत नभएको पनि विज्ञप्तिमा उल्लेख छ । आयोगको निर्णय विरुद्ध राजनीतिक र कानुनी उपचारमा जाने पनि यादवले चेतावनी दिनुभएको छ ।

आयोगले महन्थ ठाकुर पक्षले उपेन्द्र यादवलाइ गरेको कारवाही पनि अमान्य घोषित गरेको थियो । तर ठाकुर पक्षले बहुमत देखाउन सकेको थिएन र आयोगले पछिल्लो मागेको विवरण पनि बुझाएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्