राजनीति

कर्णालीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

हिमालय टिभी
२०७८ असार १ गते १४:३६
कर्णालीमा सरकारको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमालेको निर्णय

१ असार २०७८ सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकमा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी थिए ।

फ्लोर क्रस गरेका तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी हुनुभएन । तीनै जना सांसद सरकारमा सहभागी हुनुहुन्छ । कर्णाली प्रदेश सरकारले आजै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ ।

आज दिउँसो ४ बजे आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा बजेट पेश गर्ने कार्यतालिका रहेको छ । तर नीति तथा कार्यक्रम नै पास हुने र नहुने अन्योलता भने बढेको छ ।

प्रदेशमा ४० सांसद मध्ये एमालेका २० जना छन् । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एकजना छन् । एमालेका दुईजना सांसदले मात्रै समर्थन गरे पनि नीति तथा कार्यक्रम र बजेट पारित हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्